शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको कमलाखोलाको बिचमा फसेका तीन जनाको सकुशल उद्धार

शनिवार , आश्विन ३, २०८३

सिन्धुली ,०३,असोज – कमलाखोला तर्ने क्रममा खोलाको बीच भागमा रहेको बिच बगरमा फसेका तीन जनाको संयुक्त प्रहरी टोलीले सकुशल उद्धार गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ र १० को सीमाना क्षेत्रमा पर्ने कमलाखोलामा घर जाने क्रममा उनीहरू फसेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रवार साँझ करिब ६ः४० बजे कमलाखोला तर्ने क्रममा स्थानीय तीन जना व्यक्ति खोलाको बीचमा रहेको खाली बगरमा अलपत्र परेको जानकारी प्राप्त भएको थियो । उनीहरू फसेको खबर स्थानीयले राति करिब ८ः०० बजे टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय भीमानलाई गराएका थिए ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमानबाट तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर सिन्धुलीको संयुक्त टोली उद्धारका लागि परिचालन गरिएको  टोलीले राति करिब ९ः०० बजे घटनास्थल पुगेर खोलाको बीच भागमा फसेका तीनै जनालाई सुरक्षित रूपमा उद्धार गरी इलाका प्रहरी कार्यालय भीमान ल्याएकोे प्रहरीले जनाएको छ । पछि उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकामा कमलामाई नगरपालिका–१० बेला निवासी ६० वर्षीया मङ्गली विक, ६८ वर्षीय बलबहादुर विक र २८ वर्षीय विनोद विक रहेका छन् । 

प्रतिक्रिया