शुक्रवार, आश्विन २ गते २०८३

Friday 18th September 2026

बहिरा विद्यार्थीलाई शिक्षा र स्वास्थ्यको उपहार

शुक्रवार , आश्विन २, २०८३


सिन्धुली ,०२ असोज – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसर पारेर कमलामाई नगरपालिकाले बहिरा तथा कान नसुन्ने अपांगता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य र सर्वाङ्गीण विकासलाई लक्षित गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ । कमलामाई नगरपालिका–६ स्थित श्री नवज्योति बहिरा माध्यमिक विद्यालयको परिसरमा शैक्षिक तथा खेलकुद सामग्री वितरणसँगै विशेष निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

बहिरा विद्यार्थीहरूलाई स्वास्थ्य सेवाको पहुँच सहज बनाउने उद्देश्यले विद्यालयमै स्वास्थ्य शिविर सञ्चालन गरिएको सिन्धुली अस्पताल निमित्त निर्देशक डा. सुशान्त कुमार खडकाले जानकारी दिए । सुनाईमा हुने कठिनाइका कारण नियमित स्वास्थ्य सेवाबाट कतिपय विद्यार्थी वञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै विद्यालयमै विशेषज्ञ सेवा उपलब्ध गराइएको उनले बताए ।

शिविरमा सिन्धुली अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सिन्धुलीको प्राविधिक सहकार्य रहेको थियो । स्वास्थ्य परीक्षणका क्रममा विद्यार्थीहरूको सामान्य स्वास्थ्य जाँच, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श, पोषण अवस्थाको मूल्यांकन, महिनावारी स्वच्छतासम्बन्धी सेवा तथा व्यक्तिगत सरसफाइका सामग्री वितरण गरिएको थियो। साथै आवश्यकताअनुसार औषधिसमेत निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

कार्यक्रमकै अवसरमा कमलामाई नगरपालिकाले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गतिविधि र शारीरिक विकासलाई सहयोग पु¥याउने उद्देश्यले विभिन्न शैक्षिक सामग्री तथा खेलकुद सामग्री हस्तान्तरण गरेको थियो । सामग्री वितरणले विद्यार्थीहरूको सिकाइ वातावरण सुधार गर्न तथा खेलकुद गतिविधिमा सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको पहुँच विस्तार गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे । उनले यस्ता मानवीय तथा सेवामूलक कार्यक्रमले नागरिकप्रतिको स्थानीय सरकारको जिम्मेवारीलाई अझ प्रभावकारी बनाउने बताउँदै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा नगरपालिकाले निरन्तर काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य सेवा लिन भाषिक तथा सञ्चारसम्बन्धी चुनौती सामना गर्दै आएका बहिरा विद्यार्थीहरूले आफ्नै विद्यालयमा स्वास्थ्य परीक्षण, औषधि तथा खेलकुद सामग्री प्राप्त गर्न पाउँदा सहजता महसुस गरेका छन्। संविधान दिवसको अवसरमा आयोजित यस कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको अधिकार, समावेशी शिक्षा र समान स्वास्थ्य पहुँचको आवश्यकतालाई समेत उजागर गरेको छ ।

कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी  स्किम श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख  कार्साङ लामा, नगर उपप्रमुख  शान्ता कार्की, प्रमुख प्रशासकीय अधिकृत  किरण निधि तिवारीलगायत जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया