सिरहा,०३ अशोज — सिरहाको नरहा गाउँपालिका–३ स्थित रोजी मेडिकल नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना साइकलयात्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार बिहान ७ः३५ बजे गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा नरहा गाउँपालिका–३ निवासी अन्दाजी ५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
सोही दुर्घटनामा स्थानीय अन्दाजी ४५ वर्षीय राजातुल अंसारी घाइते भएका छन् । उनको दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते अंसारीको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न ट्रकका चालक धनुषाको मिथिला नगरपालिका–९ निवासी अन्दाजी २५ वर्षीय कमलेश महतो लाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले दुर्घटनाको कारण तथा घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।