बर्लिन (जर्मनी),३० भदौ – स्वचालित प्रविधिको क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्दै जर्मनीका सडकमा पहिलो पटक क्याबबिनारहित स्वायत्त ट्रकको व्यावसायिक सञ्चालन सुरु भएको छ । स्वचालित ट्रक निर्माण गर्ने कम्पनी आइन्राइड र चर्चित सुपरमार्केट चेन लिलले संयुक्त रूपमा यो अत्याधुनिक प्रविधियुक्त ट्रक सञ्चालनमा ल्याएका हुन् ।
दुवै कम्पनीले मंगलबार यसको औपचारिक घोषणा गरेका हुन् । जर्मनीको संघीय मोटर यातायात प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरेपछि सञ्चालनमा आएको यो सवारीसाधन लेभल–४ स्वायत्त प्रविधिमा आधारित रहेको छ । रोयटर्सका अनुसार जर्मनीमा यस प्रकारको चालकविहीन ट्रकलाई आधिकारिक रूपमा सञ्चालन अनुमति दिइएको यो पहिलो घटना हो ।
हाल यो ट्रक लिलको वितरण केन्द्रदेखि एक खुद्रा पसलसम्म सामान ढुवानीका लागि प्रयोग भइरहेको छ । विशेष रूपमा डिजाइन गरिएको यो क्याबबिनारहित ट्रकले कुनै मानव चालक वा सुरक्षा अपरेटरको प्रत्यक्ष उपस्थितिबिनै दैनिक रसद व्यवस्थापनको काम गरिरहेको छ ।
आइन्राइड र लिलले प्रारम्भिक परीक्षणका रूपमा सुरु गरिएको यो मार्गलाई भविष्यमा धेरै स्थानमा सामान पु¥याउने बहु–स्टपयुक्त ‘मिल्क रन’ वितरण सञ्जालका रूपमा विस्तार गर्ने योजना बनाएका छन् । कम्पनीहरूका अनुसार यस प्रविधिको उद्देश्य व्यावसायिक चालकको बढ्दो अभावलाई सम्बोधन गर्नुका साथै आपूर्ति शृङ्खलालाई अझ प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउनु हो ।
लिलको मूल कम्पनी श्वार्ज ग्रुपका अन्य विभागहरूमा समेत यस्तै स्वचालित सवारीसाधन प्रयोग गर्ने सम्भावनाबारे छलफल भइरहेको जनाइएको छ ।
क्याबबिनारहित स्वायत्त ट्रक भन्नाले चालक बस्ने स्थान, स्टेयरिङ, गियर प्रणाली तथा परम्परागत नियन्त्रण उपकरण नभएको पूर्ण स्वचालित मालवाहक सवारीलाई बुझिन्छ । यस्ता ट्रकहरू कृत्रिम बुद्धिमत्ता (एआई), अत्याधुनिक सेन्सर, क्यामेरा, राडार तथा कम्प्युटर प्रणालीको सहायताले सञ्चालन हुन्छन् ।
यस प्रविधिले भविष्यमा यातायात तथा आपूर्ति व्यवस्थापन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । मानव चालकमा निर्भरता घटाउँदै समय, लागत र सञ्चालन दक्षता सुधार गर्ने उद्देश्यसहित विश्वका विभिन्न देशमा स्वायत्त सवारी प्रविधिको विकास तीव्र रूपमा अघि बढिरहेको छ ।