पानामा सिटी, २४ असोज — मध्य अमेरिकी मुलुक पनामामा शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछिका ४५ भन्दा बढी परकम्पले व्यापक त्रास फैलाएको छ । भूकम्पबाट भवन, सडक तथा ऐतिहासिक सम्पदामा क्षति पुगे पनि शुक्रबार साँझसम्म मानवीय मृत्युको आधिकारिक पुष्टि भएको छैन ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)का अनुसार हेरेरा प्रान्तको पितालोसा अरिबाबाट करिब १० किलोमिटर दक्षिणपश्चिममा केन्द्रित भूकम्पको धक्का छिमेकी कोलम्बियासम्म महसुस गरिएको थियो । प्रारम्भमा ८, त्यसपछि ७.६ म्याग्निच्युड मापन गरिएको भूकम्पको तीव्रता अन्ततः ७.७ कायम गरिएको हो। प्रारम्भिक विवरणमा यसको गहिराइ १० किलोमिटर उल्लेख थियो । पछि ६.६ म्याग्निच्युडको अर्को शक्तिशाली धक्का गएको थियो ।
पानामा विश्वविद्यालयका भूकम्पविद्ले ४५ भन्दा बढी परकम्प अभिलेख गरेका छन् । तीमध्ये ५.८, ५.५ र ५.२ म्याग्निच्युडका धक्का पनि थिए । राजधानी पानामा सिटीसहित विभिन्न स्थानमा सर्वसाधारण घर तथा कार्यालयबाट बाहिरिएका थिए । हेरेराका ६० वर्षीय रोसेन्डो डोमिन्गेजले भान्छाका सामान खसे पनि आफूहरू सुरक्षित रहेको र भयका कारण सबै बाहिर निस्किएको एसोसिएटेड प्रेसलाई बताए ।
राष्ट्रिय नागरिक सुरक्षा सेवाका अधिकारी ओमार स्मिथका अनुसार भेराग्वास, हेरेरा र लोस सान्तोस प्रान्त बढी प्रभावित छन् । राजधानीमा क्षतिको विवरण प्राप्त भएको छैन । पानामा सिटीबाट करिब १५० किलोमिटर टाढाको पेनोनोमेमा भग्नावशेष लागेर एक जना घाइते भएका छन् । त्यहाँको चर्च, गभर्नर कार्यालय र दोस कोन्टिनेन्टेस होटलमा क्षति पुगेको छ ।
लोस सान्तोसस्थित सन् १९३८ मा राष्ट्रिय ऐतिहासिक सम्पदा घोषित सान अतानासियो गिर्जाघर भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भेराग्वासलगायत क्षेत्रमा सडक चर्किएका छन् ।
राष्ट्रपति होसे राउल मुलिनोले क्षतिको विवरण परिवर्तन हुन सक्ने भन्दै नागरिकलाई शान्त रहन आग्रह गरेका छन् । ‘यस्तो विपत्तिका लागि कोही पनि पूर्ण रूपमा तयार हुँदैन,’ उनले भने।
भूकम्पपछि तोकुमेन अन्तर्राष्ट्रिय विमानस्थलको उडान केही समय अवरुद्ध भए पनि पुनः सञ्चालनमा आएको छ । पानामा नहरको सञ्चालन सामान्य रहेको र संरचनाको प्राविधिक परीक्षण भइरहेको नहर प्राधिकरणले जनाएको छ ।
पनामा, कोलम्बिया, इक्वेडर, निकारागुवा, ग्वाटेमाला, एल साल्भाडोर तथा चिलीको इस्टर आइल्यान्डका लागि जारी सुनामी चेतावनी हटाइएको छ । पानामा विश्वविद्यालयका भूविज्ञान निर्देशक नेस्तोर लुकेले लोस सान्तोसको दक्षिणी तटमा समुद्री छाल ३ देखि १० फिटसम्म पुग्ने अनुमान गरिएको र इस्ला कान्यासका तटीय घरनजिक पानी पुगेको बताएका छन् ।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने पानामा कोकोस, नाज्का र क्यारिबियन भूगर्भीय प्लेटको अन्तरक्रियाका कारण भूकम्पीय जोखिममा छ । सन् १९९१ मा कोस्टारिकाकेन्द्रित ७.४ म्याग्निच्युडको भूकम्पबाट २३ जनाको मृत्यु र ५५९ जना घाइते भएका थिए ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनामाको अनुरोधमा जनशक्ति र स्रोतसाधन परिचालन भइरहेको बताएका छन् । कोलम्बिया, चिली, उरुग्वे, ग्वाटेमाला, कोस्टारिका, इक्वेडर र पेरुले पनि सहयोग प्रस्ताव गरेका छन् ।