काठमाडौँ,०६ मंसिर – काठमाडौँमा चोरी भएको माइक्रोबस प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
प्रहरी वृत्त स्वयंभूबाट खटिएको टोलीले चोरीको माइक्रोबससहित धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौँको कलंकीमा बस्दै आएका बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई काठमाडौँको स्वयम्भूमा बस्ने विशाल लामालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बा १ ज ९८०५ नम्बरको माइक्रोबस गत कात्तिक २९ गते काठमाडौँको नागार्जुन नगरपालिका–बाफलबाट हराएको थियो । माइक्रोबस हराएपछि सम्बन्धित पक्षले प्रहरीमा दिएको उजुरीका आधारमा खोजी कार्य अघि बढाइएको थियो ।
उजुरीमाथि अनुसन्धान तथा खोजतलास गर्ने क्रममा प्रहरीले मंसिर २ गते काठमाडौँको कलंकीबाट चोरी भएको माइक्रोबस फेला पारेको हो । माइक्रोबस बरामद भएपछि घटनामा संलग्न रहेको आशंकामा तामाङ र लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ ।