सिन्धुलीमा २४ युवालाई उद्यमशीलता तालिम

आइतवार , मंसिर ६, २०८३

सिन्धुली,०६ मंसिर – युवाहरूलाई उद्यमशीलताका माध्यमबाट आर्थिक रूपमा सक्षम बनाउँदै आत्मनिर्भरता र सकारात्मक सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने उद्देश्यले सिन्धुलीमाडीमा सञ्चालित पाँचदिने युवा उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा ह्यान्ड्स नेपाल सिन्धुलीद्वारा सञ्चालित ‘रूपान्तरण तथा नवप्रवद्र्धनका लागि युवा सशक्तीकरण परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको हो ।

स्वरोजगारका अवसर विस्तार गर्ने र युवाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिममा २० महिला र ४ पुरुष गरी २४ जना युवाको सहभागिता थियो । तालिमका क्रममा सहभागीलाई उद्यम सञ्चालनका आधारभूत पक्षसँगै व्यावसायिक गतिविधिमा आवश्यक पर्ने व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ ।

सहभागीहरूले व्यवसाय छनोट, बजार व्यवस्थापन, वित्तीय योजना, लागत निर्धारण तथा व्यावसायिक योजना निर्माणसम्बन्धी विषयमा प्रशिक्षण प्राप्त गरेका थिए । नयाँ व्यवसाय सुरु गर्दा आइपर्न सक्ने जोखिम न्यूनीकरणका उपाय, उद्यमशील सोचको विकास, आत्मविश्वास अभिवृद्धि तथा व्यावसायिक क्षमता विस्तारमा समेत तालिम केन्द्रित थियो । तालिमको अन्तिम चरणमा प्रत्येक सहभागीले आफ्नो रुचि र बजारको मागलाई आधार बनाएर प्रारम्भिक व्यावसायिक योजना तयार पारेका थिए ।

समापन समारोहमा पशु सेवा कार्यालय सिन्धुलीका प्रमुख डा. ध्रुव डि.सी.ले परियोजनाले प्रस्ताव गरेको कार्ययोजनाबारे कार्यालय पूर्ण रूपमा जानकार रहेको बताए  । व्यवसाय सञ्चालन गर्न इच्छुक युवालाई प्रोत्साहित गर्न कार्यालयका तर्फबाट सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष वासुदेव अधिकारीले युवामा रहेको नवीन सोच, सिर्जनशीलता र ऊर्जालाई सही दिशामा परिचालन गर्न सके समाज र देशको आर्थिक रूपान्तरण सम्भव हुने धारणा राखे । तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै उद्यमशील यात्रामा अघि बढ्न उनले सहभागीहरूलाई आग्रह गरे ।
तालिममा सहभागी युवाहरूले व्यवसायको अवधारणादेखि नाफा–घाटाको प्रक्रियासम्म बुझ्ने अवसर पाएको प्रतिक्रिया दिएका थिए । तालिमले उद्यमशील बन्न आवश्यक आत्मविश्वास, प्रेरणा र हौसला प्रदान गरेको उनीहरूको भनाइ थियो । सहभागीहरूले कार्यक्रमलाई फलदायी र उपयोगी भएको बताएका छन् ।

ह्यान्ड्स नेपाल सिन्धुलीका अनुसार युवालाई आत्मनिर्भर र सक्षम बनाउने बृहत् परियोजनाअन्तर्गत यो पहिलो चरणको कार्यक्रम हो । संस्थाले आगामी दिनमा थप उद्यमशीलता विकास तालिम सञ्चालन गर्नुका साथै व्यवसायसँग सम्बन्धित प्राविधिक तथा वित्तीय व्यवस्थापन तालिम प्रदान गर्ने र स्टार्टअपलाई सहयोग गर्ने योजना बनाएको छ ।

परियोजनामार्फत कुल १२० जना युवालाई प्रत्यक्ष लाभान्वित गराई उद्यमशीलताको मूलधारमा जोड्ने लक्ष्य संस्थाले लिएको छ । युवाको सीप, क्षमता र सिर्जनशीलतालाई उद्यमसँग जोडेर स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रमले स्थानीय आर्थिक सशक्तीकरण र सकारात्मक सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया