सिन्धुलीमाडीमा बुढाथोकी क्षेत्री समाजको केन्द्रीय अधिवेशन

आइतवार , मंसिर ६, २०८३

सिन्धुली,०६ मंसिर – राष्ट्र, राष्ट्रियता तथा कुलवंशको रक्षा गर्दै संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित बुढाथोकी क्षेत्री समाजको २७औँ केन्द्रीय अधिवेशन शनिवारबाट सिन्धुलीमाडीमा सुरु भएको छ । ‘राष्ट्र, राष्ट्रियता तथा कुलवंशको रक्षा गरौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ आयोजित अधिवेशनमा देशका सातवटै प्रदेशबाट प्रतिनिधिहरू सहभागी भएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले अधिवेशनको उदघाटन गरेका हुन् । अधिवेशनले देशका विभिन्न भूभागमा छरिएर रहेका बुढाथोकी क्षेत्री समुदायका सदस्यलाई एउटै संगठनात्मक संरचनामा आबद्ध गराउँदै आपसी एकता, सद्भाव र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ ।

समुदायको कुलवंशीय इतिहास, परम्परा तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धन अधिवेशनका प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । बदलिँदो सामाजिक परिवेशमा आफ्नो मौलिक पहिचानलाई कायम राख्दै भावी पुस्तामा वंशीय इतिहास र सांस्कृतिक मूल्य–मान्यताप्रति अपनत्व विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको सहभागी प्रतिनिधिहरूले धारणा राखेका छन् ।

केन्द्रीय कार्यवाहक अध्यक्ष हरिबहादुर बुढाथोकीको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा समाजका अग्रज तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। समाजको इतिहास, परम्परा र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न ज्येष्ठ नागरिकको योगदान महत्वपूर्ण रहेको भन्दै उनीहरूको सम्मान गरिएको आयोजकले स्पष्ट पारेको छ ।

अधिवेशनमा सहभागी प्रतिनिधिहरूले समुदायको मौलिक पहिचान, कुल परम्परा, सामाजिक मूल्य–मान्यता तथा संस्कार र संस्कृतिको संरक्षणका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । उनीहरूले देशभर रहेका बुढाथोकी क्षेत्री समुदायबीच सम्बन्ध विस्तार, संगठनात्मक एकता र संस्थागत सुदृढीकरणमा जोड दिएका छन् ।

समुदायका सदस्यलाई संगठित गर्दै सांस्कृतिक सम्पदाको संरक्षण र भावी पुस्तामा त्यसको हस्तान्तरण सुनिश्चित गर्ने विषयलाई अधिवेशनले प्राथमिकतामा राखेको छ । यसका साथै समाजको संगठनात्मक संरचनालाई प्रभावकारी बनाउने र नेतृत्वलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।

सिन्धुलीमाडीमा जारी २७औँ केन्द्रीय अधिवेशनले समाजको आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ केन्द्रीय नेतृत्वसमेत चयन गर्ने बताइएको छ 

प्रतिक्रिया