सिन्धुली,१० मंसिर — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ सत्ताइसमा स्कुटर र पिकअप एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले बिहिवार दिएको जानकारी अनुसार बुधवार दिउँसो करिब १ः३० बजे दुर्घटना भएको हो । मोरङबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०२–०६७ प ६६०६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको म.प्र. ०४–००१ च ०५५९ नम्बरको योद्धा पिकअप एकआपसमा ठोक्किएका थिए ।
स्कुटर सुनसरीको धरान उपमहानगरपालिका–१७ निवासी २७ वर्षीय मोहन कुमार तामाङले चलाएका थिए । पिकअप धनुषाको मिथिला नगरपालिका–६ निवासी २८ वर्षीय राकेश शाहले चलाएका थिए ।
दुर्घटनामा स्कुटर चालक तामाङको दाहिने तिघ्रा र दाहिने हातको नाडीमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार तामाङकी २४ वर्षीया श्रीमती रोजिना तामाङलाई सामान्य चोट लागेको छ ।