सहिद स्मृति पार्कमा जुटे सहयात्री, तर भेटेनन् सहयोद्धाका शालिक

मंगलवार , मंसिर ८, २०८३

सिन्धुली,०८ मंसिर– विगतको संघर्ष, सहयात्रा र बलिदानका स्मृतिहरू बोकेर पूर्व जनमुक्ति सेनाका सदस्यहरू दुधौली नगरपालिका–१० स्थित सहिद स्मृति पार्कमा भेला भए । मंसिर ८ गते आयोजित २६औँ स्थापना दिवसको कार्यक्रममा सिन्धुली, उदयपुर र मधेस प्रदेशका विभिन्न स्थानबाट एक सयभन्दा बढी पूर्व जनमुक्ति सेना सहभागी भए । तर, सहिदहरूको सम्झनामा निर्माण गरिएको पार्कमा पुग्दा उनीहरूले आफ्ना सहयोद्धाहरूको शालिक भने भेटेनन् ।

कुनै समय एउटै अभियानमा हिँडेका, एउटै उद्देश्यका लागि संघर्ष गरेका र कठिन परिस्थितिमा एकअर्काको सहारा बनेका सहयात्रीहरू स्थापना दिवसको अवसरमा पुनः एकै ठाउँमा जुटेका थिए । उनीहरूका लागि यो भेटघाट केवल औपचारिक कार्यक्रम थिएन, विगतका सम्झना, सहयात्राका अनुभव र बिछोडिएका साथीहरूको स्मरण गर्ने अवसर पनि थियो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद माननीय मातृका यादव थिए । कार्यक्रममा सहभागीहरूले जनयुद्धकालीन संघर्ष, सहिदहरूको योगदान र परिवर्तनका लागि आफूहरूले गरेको त्यागको स्मरण गरेका थिए ।

तर कार्यक्रमस्थल सहिद स्मृति पार्कमा सहिद तथा सहयोद्धाहरूको शालिक नहुनुले सहभागीहरूका लागि एउटा अपूरो अनुभूति छाड्यो। सहिदको स्मृतिमा नामकरण गरिएको पार्कमा उनीहरूको पहिचान झल्काउने शालिक वा स्मारकसमेत नहुनु स्मृतिको संरक्षण र सम्मानको विषयमा गम्भीर प्रश्न बनेको छ ।

सहिद स्मृति पार्क नाम आफैँमा बलिदान र इतिहासको सम्झना हो। तर नामले मात्र इतिहास जीवन्त हुँदैन । त्यसका लागि सहिदहरूको पहिचान, योगदान र उनीहरूसँग जोडिएका ऐतिहासिक घटनाको संरक्षण आवश्यक हुन्छ ।

विगतमा परिवर्तनका लागि जीवन अर्पण गरेका सहयोद्धाहरूको सम्झनालाई पुस्तान्तरण गर्ने जिम्मेवारी राज्य र समाज दुवैको हो । शालिक, स्मारक, अभिलेख र इतिहाससँग सम्बन्धित सामग्रीले नयाँ पुस्तालाई विगत बुझ्न सहयोग पु¥याउँछन् ।

२६औँ स्थापना दिवस मनाउन सहिद स्मृति पार्कमा जुटेका पूर्व जनमुक्ति सेनाका सदस्यहरूको भेटघाटले पुराना स्मृतिहरू ताजा बनायो । तर आफ्नै सहयोद्धाहरूको शालिक नदेख्दा उठेको प्रश्न भने अझै अनुत्तरित छ—सहिदको नाममा बनेको पार्कमा सहिदकै पहिचान स्थापित गर्ने काम कहिले होला । इतिहास सम्झनु केवल दिवस मनाउनु होइन, इतिहासका पात्र र उनीहरूको योगदानलाई सम्मानपूर्वक संरक्षण गर्नु पनि हो ।

प्रतिक्रिया