काठमाडौ, १४ असोज – विश्वभर व्यक्तिगत सम्पत्ति बढ्दै गए पनि यसको वितरणमा असमानता झन् गहिरिँदै गएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ । स्विस बैंक यूबीएसको ग्लोबल वेल्थ रिपोर्ट २०२६ अनुसार विश्वको कुल व्यक्तिगत सम्पत्तिको ४८.४ प्रतिशत हिस्सा केवल १.५ प्रतिशत वयस्क धनाढ्यको नियन्त्रणमा रहेको छ ।
प्रतिवेदनअनुसार १० लाख अमेरिकी डलरभन्दा बढी खुद सम्पत्ति भएका करिब ५ करोड ८० लाख वयस्कसँग २५०.५९ ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । यसको विपरीत, विश्वका ४२.१ प्रतिशत वयस्क अर्थात् करिब १ अर्ब ६२ करोड मानिससँग १० हजार डलरभन्दा कम खुद सम्पत्ति रहेको छ । यो समूहको स्वामित्वमा विश्वको कुल व्यक्तिगत सम्पत्तिको केवल ०.६ प्रतिशत अर्थात् ३.२२ ट्रिलियन डलर मात्र रहेको छ ।
यूबीएसले अध्ययन गरेका ५६ प्रमुख अर्थतन्त्रहरूले विश्वको कुल सम्पत्तिको ९२ प्रतिशतभन्दा बढी हिस्सा ओगट्छन्। यी बजारको सूचीमा नेपाल समावेश छैन । दक्षिण एसियाबाट भारत मात्र अध्ययनमा समेटिएको छ, जहाँ डलर–करोडपतिको संख्या ९ लाख ४४ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२५ मा मात्रै विश्वभर करिब १० लाख नयाँ डलर–करोडपति थपिएका छन्। यसको अर्थ औसतमा दैनिक करिब २ हजार ६८० जना नयाँ डलर–करोडपति बनेका छन्।
प्रतिवेदनले विश्व सम्पत्तिको ठूलो हिस्सा अमेरिका र ग्रेटर चाइना क्षेत्रमा केन्द्रित रहेको देखाएको छ । अमेरिका विश्वको कुल व्यक्तिगत सम्पत्तिको ३५.७ प्रतिशत हिस्सासहित पहिलो स्थानमा छ भने चीन, हङकङ र ताइवान समेटिएको ग्रेटर चाइनाको हिस्सा १८.५ प्रतिशत रहेको छ । पश्चिमी युरोपको हिस्सा २१.९ प्रतिशत छ ।
प्रति वयस्क औसत सम्पत्तिका आधारमा स्विट्जरल्यान्ड ९ लाख १० हजार ३८२ डलरसहित शीर्ष स्थानमा छ भने अमेरिका ६ लाख ९६ हजार २७७ डलरसहित दोस्रो स्थानमा रहेको छ । उदीयमान बजारहरूको विश्वव्यापी सम्पत्तिमा हिस्सा २६.२ प्रतिशत रहेको छ, जुन सन् २०२२ को २८.८ प्रतिशतभन्दा कम हो ।
यूबीएसका अनुसार सन् २०२५ मा अध्ययन गरिएका बजारहरूको कुल व्यक्तिगत सम्पत्ति १०.८ प्रतिशतले वृद्धि भएको छ । सम्पत्ति संरचनामा १० हजार डलरभन्दा कम सम्पत्ति भएका १.६२ अर्ब वयस्कसँग ३.२२ ट्रिलियन डलर, १० हजारदेखि १ लाख डलरसम्म सम्पत्ति भएका १.५८ अर्ब वयस्कसँग ६३.१६ ट्रिलियन डलर रहेको छ ।
त्यस्तै, १ लाखदेखि १० लाख डलरसम्म सम्पत्ति भएका ५८ करोड ८० लाख वयस्कसँग २००.७२ ट्रिलियन डलर र शीर्ष तहका ५ करोड ८० लाख वयस्कसँग २५०.५९ ट्रिलियन डलर सम्पत्ति रहेको छ ।
प्रतिवेदनले सम्पत्तिको स्वरूपमा पनि ठूलो भिन्नता देखाएको छ । स्विडेनमा कुल व्यक्तिगत सम्पत्तिमध्ये ८३.६ प्रतिशत, ताइवानमा ८०.८ प्रतिशत र अमेरिकामा करिब ७९ प्रतिशत हिस्सा वित्तीय सम्पत्तिको रहेको छ । यूबीएसका अनुसार डलर–करोडपति हुनु भनेको बैंकमा १० लाख डलर नगद हुनु होइन । धेरैका लागि घरजग्गा नै प्रमुख सम्पत्ति हुने गरेको छ । घरको मूल्य बढ्दा आम्दानी नबढे पनि कुल सम्पत्ति बढेर व्यक्ति डलर–करोडपतिको श्रेणीमा पुग्न सक्छ ।
यसले विश्व अर्थतन्त्रमा सम्पत्ति विस्तार भइरहे पनि त्यसको वितरण र पहुँचमा रहेको गहिरो अन्तर अझै कायम रहेको देखाएको छ ।