शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

एक नेपाली इरानको कब्जामा, ८२ हजारको विवरण दर्ता

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौँ, ६ चैत — मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका बीच इरानले होर्मुज क्षेत्रमा एक नेपाली नागरिकलाई पक्राउ गरेको घटना सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । मन्त्रालयका अनुसार पक्राउ पर्ने व्यक्ति अमृत झा रहेका छन्, जो पानी जहाजमा कार्यरत थिए ।

परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार होर्मुज क्षेत्रमा सञ्चालनमा रहेको जहाजका सम्पूर्ण क्रु सदस्यलाई इरानी पक्षले नियन्त्रणमा लिएको थियो । सोही क्रममा नेपाली नागरिक झा पनि पक्राउ परेका हुन् । उक्त घटनाबारे उनका आफन्तहरूले मन्त्रालयलाई जानकारी गराएपछि सरकारी स्तरबाट आवश्यक पहल सुरु गरिएको जनाइएको छ । मन्त्रालयले घटनाको थप विवरण संकलन र कूटनीतिक पहलमार्फत समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ ।

यसैबीच, इजरायल–अमेरिका र इरानबीचको तनावका कारण मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकहरूमा प्रारम्भिक रूपमा देखिएको त्रास क्रमशः कम हुँदै गएको सरकारको भनाइ छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८२ हजार १०० नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।

प्रवक्ता क्षेत्रीले प्रारम्भिक चरणमा करिब ६ हजार नेपालीले आफूलाई असुरक्षित महसुस गरेको जानकारी गराएको भए पनि पछिल्ला दिनहरूमा त्यस्तो संख्या उल्लेख्य रूपमा घटेको बताए । मन्त्रालयको आपतकालीन कक्षमा विभिन्न देशबाट हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको उनले जानकारी दिए । अहिले अधिकांश सम्पर्क श्रम स्वीकृति तथा सामान्य अवस्थाबारे जानकारी लिनका लागि हुने गरेको पनि उनले स्पष्ट पारे ।

सरकारले मध्यपूर्वस्थित आफ्ना १० वटै नियोगमार्फत नेपालीहरूको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको र समस्या परेकाहरूलाई आवश्यक समन्वय तथा सहयोग प्रदान गरिरहेको जनाएको छ । प्रवक्ता क्षेत्रीका अनुसार हाल कुनै पनि नेपाली नागरिक विदेशी ट्रान्जिटमा अलपत्र परेको अवस्था छैन। साउदी अरबको जेद्दामा रहेका ५२ जना हजयात्रीसमेत सुरक्षित रूपमा स्वदेश फर्किसकेको जानकारी दिइएको छ ।

मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताउँदै आवश्यक परे उद्धारका लागि समेत सरकार तयार रहेको स्पष्ट पारेको छ । वर्तमान अवस्थामा स्थिति क्रमशः सामान्य बन्दै गएको जनाउँदै सरकारले नेपालीहरूलाई सतर्क रहन र आधिकारिक माध्यममार्फत मात्र सूचना लिन आग्रह गरेको छ ।

प्रतिक्रिया