काठमाडौँ,०६ चैत – पश्चिम एसियामा बढ्दो तनावबीच इरान र अमेरिकाबीच आरोप–प्रत्यारोप झन् तीव्र बन्दै गएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले आफ्नो आकाशमा प्रवेश गरेको अमेरिकी एफ–३५ स्टेल्थ लडाकु विमानलाई निशाना बनाएको दाबी गरेको छ । इरानले सो विमान गम्भीर रूपमा क्षतिग्रस्त भई दुर्घटनामा परेको सम्भावना उच्च रहेको जनाएको छ ।
यता अमेरिकी पक्षले भने इरानको दाबीलाई अस्वीकार गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार इरानी क्षेप्यास्त्र आक्रमणपछि एउटा एफ–३५ विमानले आकस्मिक अवतरण गर्नुपरेको पुष्टि भएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमान इरानमाथि सञ्चालन गरिएको अभियानमा संलग्न रहेको स्वीकार्दै सुरक्षित रूपमा अवतरण गरिएको र चालकको अवस्था सामान्य रहेको बताएका छन् । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको पनि जनाइएको छ ।
एफ–३५ विश्वकै अत्याधुनिक तथा महँगा लडाकु विमानमध्ये एक हो, जसको मूल्य १० करोड अमेरिकी डलरभन्दा बढी पर्ने गर्दछ । यस्तो विमानमाथि सफल आक्रमण भएको प्रमाणित भएमा यो इरानका लागि ठूलो सैन्य उपलब्धि मानिने विश्लेषण गरिएको छ । इरानले यसअघि पनि अमेरिका र इजरायलका १२५ भन्दा बढी ड्रोन खसालेको दाबी गर्दै आएको छ, यद्यपि ती दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।
यसैबीच युद्धका क्रममा अन्य घटनाहरू पनि सार्वजनिक भएका छन् । रिपोर्टअनुसार कुवेतको हवाई रक्षा प्रणालीले गल्तीवश अमेरिकाका तीन वटा एफ–१५ इगल लडाकु विमान खसालेको जनाइएको छ । ती विमानमा सवार सबै छ चालक सदस्य भने सकुशल रहेको बताइएको छ । त्यस्तै, गत साता इराकमा अमेरिकी केसी–१३५ स्ट्र्याटोट्यांकर विमान दुर्घटनामा परेको थियो, जसमा सवार सबै छ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । अमेरिकी सेनाले उक्त दुर्घटना शत्रुको आक्रमणका कारण नभएको स्पष्ट पारेको छ ।
यी घटनाक्रमबीच अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिका क्षेत्रीय रूपमा अझै मजबुत अवस्थामा रहेको दाबी गरेका छन् । उनले इरानको हवाई रक्षा प्रणाली लगभग निष्क्रिय भइसकेको उल्लेख गर्दै अमेरिका निर्णायक रूपमा अघि बढिरहेको बताएका छन् । साथै, अमेरिकाले आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाउन ओकिनावाबाट मरीन बल परिचालन गर्ने तथा युएसएस त्रिपोली युद्धपोतसहित अतिरिक्त सैन्य शक्ति तैनाथ गर्ने निर्णय गरेको जनाइएको छ ।
पश्चिम एसियामा बढ्दो सैन्य गतिविधिले क्षेत्रीय स्थायित्वमा थप चुनौती उत्पन्न गर्ने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहे पनि स्थिति थप जटिल बन्दै गएको छ ।