शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

भिसा विवादले नेपाल महिला दृष्टिविहीन टोलीको विश्वकप यात्रा अनिश्चित

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं,२० कात्तिक – भारतमा आगामी नोभेम्बर ११ देखि सुरु हुने दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन तयारीमा रहेको नेपाली टोली असजिलो परिस्थितिमा परेको छ । टोलीका मुख्य कोच मसूद जानलाई भारतले भिसा दिन अस्वीकार गरेपछि प्रतियोगिताको मुखैमा नेपाल समस्या मध्ये परेको हो ।

कोच जान पाकिस्तानी नागरिक हुन् । भारतीय अधिकारीहरूले पाकिस्तानी नागरिक भएकै कारण उनलाई भिसा नदिएको बताइएको छ । पाकिस्तानका समाचार माध्यमहरूका अनुसार जानलाई भिसा नदिँदा नेपालका दृष्टिविहीन महिला क्रिकेट टोलीको तयारी र योजना गम्भीर रूपमा प्रभावित भएको छ ।

विश्वकप प्रतियोगिता भारतमा आयोजना हुँदैछ, तर पाकिस्तान पनि प्रतियोगिताको सहभागी भएकाले खेलहरू हाइब्रिड मोडलमा हुने व्यवस्था गरिएको छ । त्यसअनुसार पाकिस्तानका खेलहरू भारतबाहिर हुनेछन् भने नेपालसहितका अन्य टोलीका खेल भारतमै हुने तालिका तय गरिएको छ ।

नेपालको टोलीले भारतमा खेल्ने भएकाले कोच पनि त्यहाँ उपस्थित हुनुपर्ने हुन्छ । तर, कोच मसूद जानले भारतको भिसा नपाएपछि टोली अब बिना कोच खेल्नुपर्ने संकटमा परेको हो। यसले टोलीको मनोबलमा समेत असर पारेको बताइन्छ ।

पाकिस्तान दृष्टिविहीन क्रिकेट परिषदले भारतको निर्णयलाई “खेदजनक र निराशाजनक” भन्दै वक्तव्य जारी गरेको छ । परिषदले भन्यो, “खेलकुदले सधैं देशबीचको सम्बन्ध नजिक ल्याउने माध्यमको काम गर्छ। यस्तो निर्णयले खेलभावनाको मर्म नै उल्लंघन गर्छ ।”

मसूद जान पाकिस्तानको राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीका पूर्वखेलाडी हुन्। उनले दृष्टिविहीन क्रिकेटमा असाधारण योगदान दिएका छन् र उनलाई दक्षिण एसियाली दृष्टिविहीन क्रिकेट समुदायमा अत्यन्त सम्मानित व्यक्तित्वका रूपमा चिनिन्छ ।

नेपाल क्रिकेट संघ र दृष्टिविहीन क्रिकेट संघ नेपालले पनि यो विषयमा चासो व्यक्त गरेका छन्। उनीहरूले भारत सरकारसँग कूटनीतिक तहमा समस्या समाधानको प्रयास भइरहेको जनाएका छन् ।

हाल नेपाली टोली अन्तिम तयारीको चरणमा छ र भारत प्रस्थान गर्नुअघि कोच बिना अभ्यास गर्नुपरेको छ। समयमै समाधान नभए नेपालले भिसा विवादकै कारण अपूर्ण टोलीका साथ विश्वकप खेल्नुपर्ने अवस्था सिर्जना हुनसक्छ ।

प्रतिक्रिया