काठमाडौँ, २९ असोज – आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज जित हात पार्न सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ ।
ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८ः४५ बजे सुरु हुने खेल नेपालका लागि निर्णायक बनेको छ । अघिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले ओमानविरुद्ध पनि सोही लय कायम राख्ने लक्ष्य लिएको छ ।
नेपालले सुपर सिक्सअन्तर्गत अघिल्ला दुई खेलमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एक रन र कतार विरुद्ध पाँच रनले रोमाञ्चक जित हात पारेको थियो । लगातार जितसँगै टोलीमा आत्मविश्वास उच्च स्तरमा पुगेको छ ।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपालले ओमानविरुद्ध पनि बलियो प्रदर्शन गर्दै एक खेल बाँकी रहँदै विश्वकपको टिकट सुनिश्चित गर्ने योजना बनाएको छ ।
दुवै टोलीबीच अघिल्ला सात भिडन्तमा नेपालले पाँचमा जित हात पारेको छ । तर, ओमान घरेलु मैदानमा खेल्दै भएकोले नेपालका लागि चुनौतीपूर्ण हुने देखिएको छ । ओमानले पनि अहिलेसम्मको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राखेको छ । त्यसैले आजको खेल दुवै टोलीका लागि फाइनलसरहको प्रतिस्पर्धा हुनेछ ।
नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा पहिलोपटक र २०२४ मा अमेरिका तथा वेस्ट इन्डिजमा दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो । यदि आज नेपालले ओमानलाई हरायो भने, तेस्रो पटक विश्वकप यात्रा पक्का हुनेछ ।
नेपालले यसपछि सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ । यस छनोटको शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकप–२०२६ मा सहभागिता जनाउनेछन् ।