सिन्धुली – सिन्धुली बजार यतिबेला खेल पर्यटकले खचाखच भरिएको छ । सोमवारबाट १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र प्रथम खेलकुद महोत्सव सुरु भएपछि खेल पर्यटकको चहलपहल बढ्नुका साथै सिन्धुलीमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ ।
प्रतियोगिता सुरु भएपछि प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, व्यवस्थापक, प्रशिक्षक तथा प्रतियोगिता अवलोकन गर्न आएका खेल पर्यटकले सिन्धुली बजारको होटल भरिएका छन् । आइतवारदेखि नै जिल्लाका ९ वटै पालिकाबाट खेलाडी सिन्धुलीमाढी आउन थालेका थिए ।
अहिले एक हजार दुई सय बढी खेलाडी सिन्धुलीमामा भेला भएको खेलकुद विकास समिति, सिन्धुलीका अध्यक्ष वीरबहादुर थिङ तामाङले जानकारी दिनुभयो ।
यहाँ खेलकुद महोत्सवकै रूपमा आयोजना गरिएको प्रतियोगिताले आर्थिक कारोबार पनि वृद्धि भएको व्यवसायी हरुले बताएका छन् । खेल महोत्सवकै रूपमा सञ्चालित प्रतियोगिताले यहाँको व्यापार व्यवसायमा प्रवद्र्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्याएको बताइएको छ । “यहाँ आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीयको व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्याएको छ”, अध्यक्ष तामाङले भन्नुभयो, “यहाँको अर्थतन्त्र चलायमान बनाउन यस्ता विभिन्न कार्यक्रम नियमित आयोजना हुनुपर्नेरहेछ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा सिन्धुली माढी खुल्लामञ्च अगाडीको खेलमैदानमा जारी प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी, कराते, तेकान्दो, एथलेटिक्स, म्याराथन दोड र बक्सिङ गरी १० वटा खेल समाबेश छन । अध्यक्ष तामाङका अनुसार करातेमा १२३, एथ्लेटिक्समा १९८, भलिवलमा १९८, फुटबलमा ३२४, कबड्डीमा १९८, तेक्वान्दोमा ७२, क्रिकेटमा ५४, ब्याडमिन्टनमा ९०, म्याराथन दौडमा ३६ र बक्सिङ प्रतियोगितातर्फ ५० खेलाडी सहभागी हुने भएका छन् ।
विद्यालयस्तरबाट नै खेलाडीको उत्पादन गर्ने र उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यका साथ आयोजिता प्रतियोगिताबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा सम्पूर्ण खेलको नतिजा एकीकृत गरी पालिकाहरू विजेता र उपविजेता घोषित हुनेछन् । विजेता टिम एवं खेलाडीले शिल्ड र नगद पुरस्कार तथा उपविजेता टिम एवं खेलाडीले ट्रफी र नगद पुरस्कार पाउनेछन् ।