शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बाढी र पहिरोको चपेटामा बीपी राजमार्ग,आवागमन अनिश्चित

शुक्रवार , आश्विन ९, २०८३

सिन्धुली,०९ असोज – अविरल वर्षापछि आएको रोशी खोलाको बाढी, पहिरो र लेदोका कारण काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ । रोशी खण्डका विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सन बग्नुका साथै पहिरो र ढुंगा खसेपछि शुक्रवार बिहानदेखि उक्त सडकखण्डमा यातायात ठप्प भएको हो ।

बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को घुमाउने क्षेत्रमा निर्माण गरिएका डाइभर्सन रोशी खोलाको बाढीले क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यसअघि बाढीले सडक कटान गरेपछि यातायात सहज बनाउन ती स्थानमा अस्थायी संरचना निर्माण गरिएको थियो । डाइभर्सन बनेपछि केही समयदेखि उक्त खण्डमा सवारी आवागमन सञ्चालनमा आएको थियो ।

तर, पछिल्लो पटक आएको बाढीले ती संरचना पुनः बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । यसका अतिरिक्त रोशी गाउँपालिका–७ को चारसयबेँसी, रोशी–८ को गिम्दीबेँसी तथा रोशी–११ को माम्ती क्षेत्रमा पनि पहिरो, लेदो र ढुंगा खसेपछि सडक सञ्चालन प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार रोशी खोलाको तीव्र बहावका कारण चौकीडाँडा र घुमाउने क्षेत्रमा रहेका अस्थायी सडक संरचनामा क्षति पुगेको हो । सडक विभागका प्राविधिकहरूले पानीको बहाव नरोकिएसम्म डाइभर्सन निर्माण तथा पहिरो हटाउने काम अघि बढाउन कठिन हुने बताएका छन् ।

लगातार वर्षा भइरहेकाले सोमबारसम्म डाइभर्सन पुनर्निर्माण र सडक खुलाउने काम सुरु हुन नसक्ने जनाइएको छ । मौसम विज्ञान विभागले आइतबारसम्म देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ । यही कारण बीपी राजमार्ग कहिले पूर्ण रूपमा सञ्चालनमा आउने भन्ने यकिन हुन सकेको छैन।

यसपटक सुरक्षा निकायको पूर्वतयारीका कारण राजमार्ग अवरुद्ध हुँदा पनि यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र पर्नुपर्ने अवस्था भने आएन । मौसम पूर्वानुमानलाई आधार बनाएर नदी किनार आसपास माइकिङ गरिएको तथा जोखिम बढेपछि रातिको समयमा बीपी राजमार्गमा सवारी आवागमन रोकिएको थियो । बिहानैदेखि धुलिखेल र सिन्धुलीतर्फ सवारी साधनलाई सुरक्षित स्थानमा रोकिएको थियो ।

यसअघि २०८१ साल असोजमा आएको विनाशकारी वर्षापछि बीपी राजमार्गमा ठूलो मानवीय र भौतिक असर परेको थियो । मौसम विभागले भारी वर्षाको पूर्वसूचना दिए पनि सवारी सञ्चालन भइरहँदा असोज ११ गते बिहान रोशी खोलाले राजमार्गका विभिन्न भाग बगाएको थियो । त्यसपछि हजारौं यात्रु जोखिममा परेका थिए भने सयौं सवारीसाधन करिब दुई सातासम्म रोशी क्षेत्रमा रोकिएका थिए। केही यात्रुको हेलिकप्टरमार्फत उद्धारसमेत गरिएको थियो ।

काठमाडौंलाई तराई क्षेत्रसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको बीपी राजमार्गमा हुने अवरोधले यात्रु तथा मालवाहक सवारीको आवागमनमा प्रत्यक्ष असर पार्ने गरेको छ । प्रशासनले वर्षाको अवस्था सामान्य नभएसम्म सडक प्रयोग गर्दा उच्च सतर्कता अपनाउन तथा जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया