सिन्धुली,०८ असोज — आगामी डिसेम्बर २०२६ मा आयोजना हुने ३९०.५ किलोमिटर लामो ‘फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा न्यून कार्बन पर्यटकीय करिडोर निर्माणको पूर्वतयारीस्वरूप स्टोरीसाइकलले सिन्धुली क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक बस्तीहरूको डिजिटल नक्सांकन अभियानलाई तीव्रता दिएको छ ।
विश्व पर्यटन दिवसको अवसर पारेर सञ्चालन गरिएको अभियानअन्तर्गत सुनकोसी गाउँपालिका–२ मा समुद्री सतहबाट १ हजार ३ सय मिटर उचाइमा रहेको ऐतिहासिक हायूगाउँको म्यापिङ कार्य सम्पन्न गरिएको छ । बिपी राजमार्गबाट करिब ९ किलोमिटर उकालो दूरीमा रहेको यो बस्ती स्वादिलो जुनार, सुन्तला र कागती उत्पादनका लागि परिचित छ । यहाँ लोपोन्मुख हायू समुदायसँगै नेवार र तामाङ समुदायको समेत बसोबास रहेको छ ।
करिब तीन दर्जन घर रहेको हायूगाउँका सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली र रैथाने खाद्य चक्रलाई जिओ–ट्याग गरी खुला डेटा प्रणालीमा अभिलेखीकरण गरिएको स्टोरीसाइकलले जनाएको छ । यसले स्थानीय पहिचान, परम्परा र उत्पादनलाई डिजिटल माध्यमबाट विश्वसामु पुर्याउने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
स्टोरीसाइकलका निर्देशक तथा टिम लिड सौरभ ढकालले ३९०.५ किलोमिटर लामो ‘फोर्ट स्टेज राइड’लाई केवल साइकल यात्रा नभई ऐतिहासिक, सांस्कृतिक र वातावरणीय अभियानका रूपमा अघि बढाइएको बताए । उनका अनुसार सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई जोड्ने करिडोरभित्र रहेका हायूगाउँजस्ता मौलिक बस्तीको संस्कृति, रैथाने खानपान र स्थानीय जीवनलाई डिजिटल प्रविधिमार्फत अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्य अभियानको मुख्य लक्ष्य हो ।
ढकालले स्थानीय युवालाई डिजिटल प्रविधिसँग जोड्ने, खाद्यान्न ढुवानीबाट हुने कार्बन उत्सर्जन न्यूनीकरण गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने दिशामा डिजिटल म्यापिङ महत्वपूर्ण कदम बन्ने उल्लेख गरे ।
अभियानकै क्रममा शुक्रबार सिन्धुलीमाढीमा स्थानीय होटल व्यवसायी, युवा तथा सरोकारवालालाई लक्षित गरी न्यून कार्बन पर्यटन, हरित ऊर्जा अडिट र डिजिटल म्यापिङसम्बन्धी अन्तरक्रियात्मक सत्र आयोजना गरिनेछ । उक्त कार्यक्रम सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टको संयोजनमा हुनेछ ।
त्यसैगरी असोज १० गते शनिबार टोलीले हरिहरपुरगढी क्षेत्रमा पुगेर हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र युवासँग डिजिटल म्यापिङ तथा हरित आतिथ्यसम्बन्धी छलफल एवं नक्सांकन कार्य अघि बढाउनेछ ।
सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई साइकलमार्फत जोड्दै ललितपुरसम्म पुग्ने ‘फोर्ट स्टेज राइड’ करिडोरले स्थानीय रैथाने उत्पादनको प्रवद्र्धन, खाद्यान्न ढुवानीबाट हुने कार्बन उत्सर्जन घटाउने र सिन्धुलीका पर्यटकीय बस्तीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्ने लक्ष्य राखेको छ ।