काठमाडौँ ,०९ असोज – देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै मौसममा थप बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ जारी गरेको विशेष बुलेटिनमार्फत आज बिहिवार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको बलियो न्यून चापीय प्रणाली (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास केन्द्रित रहेको छ । उक्त मौसमी प्रणालीले प्रारम्भिक चरणमा आफ्नो तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ गति लिने र त्यसपछि आगामी २४ घण्टाभित्र उत्तर–उत्तरपश्चिम दिशातर्फ सर्दै क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ ।
हालको मौसम अवस्थाअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भू–भागमा बाक्लो बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
पूर्वानुमानअनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । यस्तै मधेस प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ ।
मौसम प्रणालीको प्रभावले मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ । वर्षा र हावाहुरीका कारण पहाडी तथा नदी आसपासका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ ।
महाशाखाले प्रतिकूल मौसमका कारण जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहतका कामसमेत प्रभावित हुन सक्ने भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन पनि अनुरोध गरिएको छ ।