शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

बिहिवार , आश्विन ८, २०८३

सिन्धुली,०८ असोज — सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानस्थित ट्राफिक चोकमा बिपी राजमार्गअन्तर्गत टिप्पर र मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयले हेटौडाले बिहिवार दिएको अनुसार बुधवार दिउँसो करिब १२ बजेर ५५ मिनेटमा बर्दिबासबाट रानीबासतर्फ जाँदै गरेको बा ५ ख ४६५३ नम्बरको खाली टिप्पर र विपरीत दिशाबाट सिन्धुलीतर्फबाट बर्दिबासतर्फ आउँदै गरेको बा प्र ०२–०६२ प ९७१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सिरहा जिल्लाको लहान नगरपालिका–७ दुर्गा मन्दिर बस्ने २५ वर्षीय अर्जुन साह सुनार घाइते भएका छन् । उनको दाहिने खुट्टा, हात तथा शरीरको भित्री भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकलको पछाडि सवार लहान नगरपालिका–६ की २३ वर्षीया सिर्जना थापा मगरको टाउको र बाँया खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि बर्दिबासतर्फ पठाइएको थियो । थप उपचार आवश्यक भएपछि बिहिवार साँझ ६ बजेर २० मिनेटमा बर्दिबासबाट एम्बुलेन्समार्फत काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिप्पर चालक सिन्धुलीको इलाका प्रहरी कार्यालय भिमानको नियन्त्रणमा रहेका छन् । टिप्पर चालक गोलन्जोर गाउँपालिका–७ सिन्धुलीका २६ वर्षीय कृष्ण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया