शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

मदन भण्डारी राजमार्ग दुर्घटनामा घाइते महिलाको उपचारपछि घरमै मृत्यु

बिहिवार , आश्विन ८, २०८३

सिन्धुली, ०८ असोज — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ बगैचा नयाँबस्तीमा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारपछि घरमै मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी स्थानीय करिब ६०/६२ वर्षीया बिबिमाया दोङको आफ्नै घरमा मृत्यु भएको  बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले बिबिार जनाएको छ ।

प्रहरीका अनुसार २०८२ साल फागुन २ गते अपराह्न ४ः१५ बजे हरिहरपुरगढी गाउँपालिका–३ स्थित मदन भण्डारी राजमार्गमा हेटौँडाबाट सिन्धुलीतर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००१ ज ००४३ नम्बरको ईभी गाडीले बाटो काट्दै गरेकी दोङलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनको टाउकोमा रगत जमेको देखिएपछि शल्यक्रिया गरिएको थियो । उपचारपछि २०८३ साल भदौ १९ गते डिस्चार्ज भई उनी घर फर्किएकी थिइन् । तर  बुधवार अपराह्न ४ बजे आफ्नै निवासमा उनको मृत्यु भएको जानकारी प्रहरी चौकी हरिहरपुरगढीमा प्राप्त भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थल मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । मुचुल्का सम्पन्न भएपछि राति ११ः४० बजे मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याई राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया