मार्क्सवादका आधारभूत मान्यतामा दृढतापूर्वक उभिएर नेपाली विशेषताअनुरूप त्यसलाई व्यवहारमा लागू गर्न नसक्दा, अर्थात् संसदको क्रान्तिकारी प्रयोगको सीमा नाघेर संसदवादमा चुर्लुम्म डुब्दा, यतिखेर नेपालको कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी अवसरवादी नेतृत्वको चङ्गुलमा फसेर विसर्जनवादको सिकार हुँदै मरणासन्न अवस्थामा पुगेको छ ।
पार्टी र नेताहरूको टाउका जोडेर गरिने एकता र ध्रुवीकरण अब म्याद सकिएको औषधिजस्तै प्रभावहीन भइसकेको छ । त्यसैले यस्तो अभ्यास आफैंमा बेमौसमी बाजा बन्न पुगेको छ ।
अबको एकमात्र बाटो भनेको देशभित्र र बाहिर रहेका सबै क्रान्तिकारीहरूले वैचारिक, राजनीतिक र संगठनात्मक बहस अघि बढाउँदै सबै वामपन्थी क्रान्तिकारीहरूलाई एक ठाउँमा ल्याउनु हो । यो राष्ट्र र जनतालाई दुर्घटनाबाट बचाउने निर्विकल्प बाटो हो ।
प्रतीकात्मक रूपमा भन्नुपर्दा,
अर्को ‘दोकान’ अर्थात् नयाँ पार्टी खोल्नेतिर नलागौँ—‘तावाको तापले उफ्रेको माछा आगोको भुङ्ग्रोमा’ परेजस्तै हुनेछ। बरु, वर्तमानका ग्राहकविहीन धेरै ‘दोकान’ बन्द हुने स्थिति निर्माण गरौँ ।
यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक, कार्यशैलीगत र आचरणगत आधारमा गम्भीर छलफल र बहस गर्दै, सापेक्षिक रूपमा इमानदार र प्रतिबद्ध नेतृत्वको अगुवाइमा नयाँ पुस्ताको सिर्जनशील युवा नेतृत्व विकास गर्ने उद्देश्यसहित समाजवादी क्रान्तिको लक्ष्यमा आधारित साझा मञ्च निर्माण गरौँ र त्यसबाट सुदृढ क्रान्तिकारी शक्ति निर्माण गरौँ ।