काठमाडौं,०९ असोज – बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशभर वर्षा सक्रिय बनेको छ । निरन्तरको झरीका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुन थालेका छन् । मौसमविद्का अनुसार वर्षा गराउने प्रणाली अहिले नेपालको पूर्वी भूभागबाट क्रमशः पश्चिमतर्फ सर्दै गएको छ, जसका कारण आगामी दिनमा पश्चिमी क्षेत्रमा वर्षाको मात्रा अझ बढ्ने सम्भावना देखिएको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार पूर्वी क्षेत्रमा वर्षाको मात्रा केही घट्ने भए पनि पश्चिमी भूभागमा शुक्रबार रातिदेखि पानी पर्ने क्रम बढ्ने पूर्वानुमान छ । लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लामा बुधबारदेखि नै वर्षा भइरहेको र अब सुदूरपश्चिमसम्म वर्षाको प्रभाव विस्तार हुने मौसमविद्हरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वी क्षेत्रका जिल्लालाई पहेँलो संकेत तथा गण्डकी प्रदेशदेखि पश्चिमतर्फका उच्च पहाडी र हिमाली जिल्लालाई रातो संकेत दिइएको छ । पहेँलो संकेतले सतर्क रहँदै मौसम अवस्थाबारे अद्यावधिक हुनुपर्ने जनाउँछ भने रातो संकेतले बाढीपहिरोको जोखिम उच्च रहेकाले आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्ने संकेत गर्छ ।
यसैबीच, निरन्तरको वर्षाका कारण बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने चेतावनी दिएको छ । महाशाखाका अनुसार असोज ९ गते गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर गरी १२ जिल्लामा बाढीको उच्च जोखिम रहेको छ ।
असोज १० गते भने जोखिम क्षेत्र अझ विस्तार हुने अनुमान गरिएको छ । त्यस दिन नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबारदेखि पनि सातै प्रदेश भएर बहने साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने जनाएको छ । यसैबीच, सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा डुबानको सम्भावना भएका स्थानमा पर्सिसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।