काभ्रेपलाञ्चोक,०९ असोज — अविरल वर्षासँगै आएको रोशी खोलाको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका दुई स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाएको छ । बाढीका कारण नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा र रोशी गाउँपालिका–७ को घुमाउने क्षेत्रमा बनाइएको डाइभर्सन क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार रोशी खोलामा आएको बाढीले ती दुवै स्थानका अस्थायी सडक संरचना बगाएको हो। यसअघि आएको बाढीका कारण बीपी राजमार्गका केही खण्डमा सडक कटान भएपछि यातायात सञ्चालन सहज बनाउन सम्बन्धित स्थानमा डाइभर्सन निर्माण गरिएको थियो ।
डाइभर्सन निर्माणपछि केही समयदेखि उक्त राजमार्ग खण्डमा सवारीसाधन सञ्चालनमा आएका थिए। तर पुनः आएको बाढीले अस्थायी संरचनामा क्षति पुर्याएपछि राजमार्गको आवागमन प्रभावित हुने अवस्था सिर्जना भएको छ ।
यसैबीच बीपी राजमार्गका अन्य विभिन्न स्थानमा समेत पहिरो खसेको प्रहरीले जनाएको छ । नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी तथा रोशी गाउँपालिका–११ को माम्ती क्षेत्रमा पहिरो गएको छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा सडक संरचना कमजोर बन्दै गएको र नदी तथा खोलामा पानीको बहाव बढ्दा राजमार्गका विभिन्न खण्डमा जोखिम बढेको छ । सम्बन्धित निकायले सडक खुलाउने तथा क्षतिको अवस्था मूल्यांकन गर्ने काम अघि बढाइरहेको जनाइएको छ ।
बीपी राजमार्ग काभ्रे हुँदै तराई र काठमाडौं जोड्ने महत्वपूर्ण सडक मार्ग भएकाले यसमा हुने अवरोधले यात्रु तथा मालवाहक सवारीको आवागमनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । प्रशासनले सडक प्रयोगकर्तालाई मौसमको अवस्था हेरेर सावधानी अपनाउन आग्रह गरेको छ ।