काभ्रेपलाञ्चोक, ०९ असोज – अविरल वर्षापछि खसेको पहिरो र बगेको लेदोका कारण काभ्रेपलाञ्चोक खण्डअन्तर्गतको बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सञ्चालन प्रभावित बनेको हो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को चारसयवेशी, रोशी गाउँपालिका–८ को गिम्दीवेशी तथा रोशी गाउँपालिका–११ को माम्ती क्षेत्रमा पहिरो खसेका कारण सडक पूर्णरुपमा बन्द भएको छ ।
प्रहरी निरीक्षक मिश्राले निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउने काममा समय लाग्न सक्ने जानकारी दिँदै यात्रुहरूलाई सडकको वर्तमान अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिन । खराब मौसमका कारण तत्कालै सडक खुलाउन चुनौती देखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, काभ्रेपलाञ्चोकको पनौती क्षेत्र हुँदै बग्ने रोशी खोलामा जलसतह बढ्दै गएको छ । पनौती जलमापन केन्द्रले मापन गरेको जलसतहले सतर्कता तह पार गरी अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नियमित रुपमा डुबान हुने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा पनौतीस्थित रोशी खोलाको जलसतहले जोखिमको संकेत पार गरेको हो । उनले सम्भावित बाढी तथा डुबानबाट जोगिन स्थानीयवासीलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोकका सडक तथा नदी क्षेत्रमा जोखिम बढेपछि सुरक्षा निकाय र सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेका छन् । प्रशासनले मौसमको अवस्था र सडकको स्थिति हेरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई पुनः सचेत गराएको छ ।