उदयपुर ,०४ असोज –उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा मृतकका श्रीमान् पक्राउ परेका छन्।
प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँका अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै श्रीमती अन्दाजी ४५ वर्षीया बिमला राईमाथि सिकल (धारिलो हतियार) प्रहार गरेका थिए । गर्दनमा गम्भीर चोट लागेकी बिमला राईलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो ।
आइतवार राति करिब १२ः३० बजे भएको प्रहरीले जनाएको छ । घटनापछि गन्दु राम राई आफैं अ.प्र.पोष्ट माडिबास उदयपुर पुगेर घटनाबारे जानकारी गराएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरमा ल्याएको हो ।
घाइते बिमला राईलाई अ.प्र.पोष्ट माडिबासबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको दुई सदस्यीय टोलीले तत्काल उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो । उपचारकै क्रममा राति १ः१५ बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीले घटनाको वास्तविक कारण, परिस्थितिजन्य अवस्था तथा अन्य आवश्यक कानुनी प्रक्रियाबारे अनुसन्धान अघि बढाइरहेको छ ।