शुक्रवार, आश्विन २३ गते २०८३

Friday 9th October 2026

पिकअप जिपसँग सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते

शुक्रवार , आश्विन २३, २०८३


उदयपुर,२३ असोज –उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित मदन भण्डारी लोकमार्गमा पिकअप जिपसँग सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा ७० वर्षीया एक वृद्धा घाइते भएकी छन् ।

त्रियुगा नगरपालिका–११ को फिल्म हल नजिक शुक्रबार बिहान करिब १०ः२५ बजे भएको दुर्घटनामा सोही स्थानका शिवकुमार सदाकी २ वर्षीया छोरी रागिनी सदाको मृत्यु भएको हो ।

आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको को.प्र.०५–००१ च ०१९० नम्बरको पिकअप जिपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५–००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिका रागिनीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर पु¥याइएको थियो। उपचारकै क्रममा दिउँसो १२ः५६ बजे उनको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी ७० वर्षीया कन्नि सदाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन ।

दुर्घटनापछि प्रहरीले पिकअप जिप र सिटी सफारीसहित दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको तथा आवश्यक सवारी कागजात साथमा नराखेको खुलेको छ ।

दुर्घटनाको वास्तविक कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया