काठमाडौँ,२३ असोज – काठमाडौँको बुढानीलकण्ठमा विदेशमा रहेका नेपाली नागरिकको घर भाडामा लिएर अवैध रूपमा सुन प्रशोधन गर्ने गरिएको खुलेको छ । आवासीय प्रयोजनका लागि मासिक ३ लाख ३० हजार रुपियाँमा भाडामा लिइएको घरबाट ठूलो परिमाणमा सुन, प्रशोधन उपकरण र रसायनसहित ३ चिनियाँ नागरिक पक्राउ परेपछि सुनको सम्भावित अन्तरदेशीय कारोबारबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बिहान करिब ५ बजे बुढानीलकण्ठ–२, माथिल्लो भंगालस्थित घरमा कारबाही गरी २१ किलो ७५० ग्राम सुन बरामद गरेको हो । पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन् । प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई बरामद सुन, सुन गलाउने मेसिन तथा प्रशोधनमा प्रयोग हुने रसायन र उपकरणसहित सार्वजनिक गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले केही समयदेखि उनीहरूको गतिविधि निगरानी गरिरहेको थियो । बिहीबार बिहान नेपाली नम्बर प्लेटको गाडी प्रयोग गरी हतारमा घरबाट बाहिरिन खोज्दा उनीहरू पक्राउ परेका हुन् ।
“हामीले उनीहरूमाथि केही समयअघिदेखि नै निगरानी बढाएका थियौँ । बिहीबार बिहान उनीहरू शंकास्पद रूपमा घरबाट बाहिर निस्कन निकै हतार गरिरहेको अवस्थामा नियन्त्रणमा लियौँ,” खड्काले भने ।
प्रहरीले सुरुमा घरमा सुन रहेको आशङ्का गरे पनि खानतलासीका क्रममा अनुमानभन्दा ठूलो परिमाणमा सुनसहित प्रशोधन सामग्री फेला पारेको जनाएको छ । घरभित्र सुन गलाउने, रासायनिक प्रक्रियाबाट प्रशोधन गर्ने र पुनः ठोस आकारमा ढाल्ने उपकरणको व्यवस्था भेटिएकाले उक्त स्थान सुन भण्डारणका लागि मात्र नभई प्रशोधन केन्द्रकै रूपमा प्रयोग भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बरामद सुनमध्ये ११ टुक्रामा १० किलो ९९७ ग्राम सुन तयार अवस्थामा भेटिएको छ भने प्लास्टिकमा राखिएको अर्धठोस अवस्थामा १० किलो ७५२ ग्राम सुन फेला परेको छ । प्रहरीले कुल परिमाण २१ किलो ७५० ग्राम जनाएको छ ।
सुनलाई धुलो वा अर्धठोस अवस्थामा नेपाल भित्र्याएर घरभित्रै प्रशोधन गरी बिस्कुटको आकारमा ढाल्ने गरिएको हुन सक्ने प्रहरीको आशङ्का छ । घटनास्थलबाट बरामद उपकरणले त्यहाँ नियमित रूपमा सुन प्रशोधन हुने गरेको सम्भावनालाई बल पु¥याएको छ । यद्यपि यस्तो कारोबार कहिलेदेखि सञ्चालन भइरहेको थियो भन्ने खुलेको छैन ।
प्रहरीले सुन हङकङबाट हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्ने अनुमान गरेको छ । तर सुनको वास्तविक स्रोत, नेपाल ल्याइएको समय, प्रयोग भएको मार्ग र अन्तिम गन्तव्य पुष्टि हुन बाँकी छ ।
विदेशमा रहेका नेपालीको घर यति महँगो भाडामा लिएर अवैध कारोबारमा प्रयोग भएको घटनाले घरको वास्तविक प्रयोजन र भाडावालको गतिविधिमाथिको निगरानीबारे प्रश्न उठाएको छ । घरधनीलाई त्यहाँ भइरहेको कारोबारको जानकारी थियो वा थिएन भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ । घरधनीको जानकारी वा संलग्नता पुष्टि हुने कुनै विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
त्यस्तै, सुन ओसारपसारमा प्रयोग भएको नेपाली नम्बर प्लेटको गाडी कसको नाममा दर्ता छ, कसले प्रयोग वा भाडामा लिएको थियो तथा चालक वा सवारीधनीलाई कारोबारबारे जानकारी थियो कि थिएन भन्ने पनि खुलिसकेको छैन । आवासीय घरको प्रयोगसँगै स्थानीय यातायातका साधनसमेत जोडिएकाले सम्भावित सहयोगी सञ्जालको पहिचान अनुसन्धानको अर्को पक्ष बनेको छ ।
पक्राउ परेका चिनियाँ नागरिकसँग दोभासेको सहयोगमा बयान लिन खोजिए पनि उनीहरूले अनुसन्धानमा सहयोग नगरेको प्रहरीले जनाएको छ । उनीहरूबाट सुनको स्रोत, कारोबारी सम्पर्क र गन्तव्यबारे जानकारी प्राप्त हुन नसकेपछि प्रहरीले अन्य प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाएको छ ।
सुन नेपालमा कहाँबाट ल्याइयो, कसरी भिœयाइयो, कहाँ लैजाने तयारी थियो र कारोबारमा नेपाली नागरिकको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानमा समेटिएका छन् । आवश्यक परे चिनियाँ पक्षसँग समेत समन्वय गरी सूचना संकलन गर्ने प्रहरीको तयारी छ ।
विदेशी नागरिक, भाडाको निजी आवास, नेपाली सवारीसाधन र सुन प्रशोधन उपकरण एकै घटनामा जोडिएपछि सुनको स्रोतदेखि प्रशोधन, ओसारपसार र सम्भावित अन्तरदेशीय सम्पर्कसम्मको सञ्जाल पहिचान गर्नुपर्ने देखिएको छ । प्रहरीले अनुसन्धान पूरा भएपछि मात्र कारोबारमा संलग्न अन्य व्यक्ति तथा सुन तस्करीको सम्भावित सञ्जालबारे थप तथ्य सार्वजनिक गर्ने जनाएको छ ।