काठमाडौँ,२२ असोज — काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शृंखलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाएर सुनका गरगहना खोस्ने तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार साँझ काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटी पुलमुनि प्रहरीको गोली लागेर सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्दै आएका २४ वर्षीय आयन माझी पक्राउ परेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा माझीले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली चलाउनुपरेको परिसरले जनाएको छ। त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुका साथै माझीको घुँडामुनि एक गोली प्रहार गरेको थियो ।
प्रहरीका अनुसार माझी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएका मोटरसाइकल चोरी, हातहतियार देखाएर सुनका गरगहना लुट्ने तथा अन्य लुटपाटका घटनामा संलग्न रहेको खुलेको छ । उनीसँग सम्बन्धित घटनामा अन्य व्यक्तिको संलग्नताबारे खोजी गर्ने क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य व्यक्तिमा मकवानपुरको बकैया गाउँपालिका–७ का ३६ वर्षीय मनोजकुमार मोक्तान र सोही गाउँपालिकाको वडा नम्बर ५ का ३४ वर्षीय राकेश थिङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका माझीविरुद्ध यसअघि नै विभिन्न प्रकृतिका २७ वटा मुद्दा रहेको पाइएको छ । प्रहरीले तीनै जनालाई लुटपाट तथा चोरीका घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको हो ।