काठमाडौं,३० भदौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ मौज्दात रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज बिहान ९ बजेसम्म कोषअन्तर्गत विभिन्न नौवटा स्वदेशी बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ ।
त्यसैगरी, कोषका लागि सञ्चालनमा रहेका दुईवटा बैंकका अमेरिकी डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर संकलन भएको कार्यालयले जनाएको छ ।
यसैबीच, रसुवाको भोटेकोशी नदीमा केही दिनअघि आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार निकासा गरिएको रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित क्षेत्रका पीडित परिवारसम्म पु¥याउने व्यवस्था मिलाइएको छ ।
विपद्का बेला तत्काल राहत उपलब्ध गराउन तथा प्रभावित समुदायको पुनःस्थापना प्रक्रियालाई प्रभावकारी बनाउन कोषमा रहेको रकम परिचालन गरिएको कार्यालयले स्पष्ट पारेको छ ।