सिन्धुली,२७ भदौ – चाडपर्व नजिकिँदै गर्दा दूध तथा दुग्धजन्य पदार्थको मूल्य आफूखुसी वृद्धि गरी बिक्री वितरण भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले व्यवसायीलाई आधिकारिक निर्णयबिना मूल्य वृद्धि नगर्न निर्देशन दिएको छ । कार्यालयले जिल्लामा सञ्चालनमा रहेका दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने थोक तथा खुद्रा व्यापारी, व्यवसायिक फर्म, कम्पनी, व्यक्ति तथा संस्थालाई उपभोक्ता हितविपरीत हुने कुनै पनि गतिविधि नगर्न सचेत गराएको हो ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत पछिल्लो समय विभिन्न माध्यम तथा स्रोतबाट प्राप्त उजुरी र गुनासोलाई ध्यानमा राख्दै यस्तो निर्देशन जारी गरेको जनाएको छ । नजिकिँदै गरेका चाडपर्वलाई आधार बनाएर बजारमा दूध तथा त्यसबाट उत्पादन हुने सामग्रीको मूल्यमा अनधिकृत वृद्धि गर्ने कार्यप्रति प्रशासनले निगरानी बढाएको छ ।
सूचनामा नेपाल सरकार वा सम्बन्धित अधिकारप्राप्त निकायको स्वीकृत निर्णयबिना कुनै पनि व्यवसायीले दूध तथा दुग्धजन्य पदार्थको मूल्य निर्धारण वा वृद्धि गर्न नपाउने स्पष्ट पारिएको छ । बजार व्यवस्थापन, उपभोक्ता अधिकार संरक्षण तथा आवश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले प्रशासनले व्यवसायीलाई प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अनुमति बिना मूल्य वृद्धि गरी कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा उपभोक्ताको हकहितमा प्रतिकूल असर पर्ने कार्य गरेको पाइएमा सम्बन्धित व्यक्ति, फर्म वा संस्थामाथि कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐनसहित प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।
प्रशासनले दूध तथा दुग्धजन्य पदार्थको मूल्य, बिक्री वितरण वा अन्य कुनै विषयमा अनियमितता देखिएमा कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ । नागरिकले लिखित वा मौखिक रूपमा तथा इमेल, फोन वा स्वयं उपस्थित भएर उजुरी तथा गुनासो दर्ता गराउन सक्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।