सिन्धुली,२६ भदौ – सिन्धुली जिल्लामा हाल दूध तथा दुग्धजन्य पदार्थको बजार मूल्यमा कुनै वृद्धि गरिएको छैन । दूधको खरिद तथा बिक्री मूल्य पुनरावलोकन गर्ने विषयमा सदरमुकाम क्षेत्रमा सञ्चालनमा रहेका डेरी उद्योगी र सिन्धुली उद्योग वाणिज्य संघबीच छलफल भएको छ ।
शुक्रवार सिन्धुली उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा दूध उत्पादनदेखि उपभोक्ता बजारसम्मका विभिन्न पक्षमा विस्तृत विचार–विमर्श गरिएको थियो । बैठकमा किसानबाट डेरी उद्योगले खरिद गर्ने दूधको मूल्य, उत्पादन तथा सञ्चालन खर्च, बजार व्यवस्थापन र उपभोक्तामाथि पर्ने प्रभावलगायतका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।
छलफलका क्रममा तत्कालै नयाँ मूल्य निर्धारण गर्ने निष्कर्षमा नपुगी थप अध्ययन, समन्वय र सरोकारवालासँगको व्यापक परामर्शपछि मात्र निर्णय गर्ने सहमति भएको छ । सहभागीहरूले केही दिनभित्र डेरी उद्योगी, दुग्ध उत्पादक किसान, किसान समूह, सहकारी संस्था तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा बृहत् बैठक आयोजना गरी दूधको नयाँ मूल्य निर्धारण प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।
दूधको मूल्य निर्धारण गर्दा उत्पादन गर्ने किसानको हित संरक्षण, डेरी उद्योगको दीर्घकालीन सञ्चालन सम्भावना तथा उपभोक्ताको आर्थिक अवस्थालाई समेत सन्तुलित रूपमा सम्बोधन गर्नुपर्नेमा छलफलमा जोड दिइएको छ । सरोकारवालाबीच आपसी समन्वय, सहमति र वस्तुगत आधारमा दूधको खरिद तथा बिक्री मूल्य तय गर्ने विषयमा सबै पक्ष सकारात्मक देखिएका छन् ।
दूधको मूल्य सम्बन्धी अन्तिम निर्णय आगामी बृहत् छलफलपछि मात्र सार्वजनिक गरिनेछ । त्यसपछि हाल कायम रहेको मूल्यलाई निरन्तरता दिने वा नयाँ दररेट लागू गर्ने विषयमा औपचारिक निर्णय हुने बताइएको छ ।
स्थानीय दुग्ध क्षेत्रलाई व्यवस्थित, दिगो र उपभोक्तामैत्री बनाउन उत्पादनकर्ता, व्यवसायी र बजार पक्षबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ । मूल्य निर्धारण प्रक्रिया पारदर्शी र सबै पक्षको हितलाई ध्यानमा राखेर अघि बढाउने तयारी गरिएको छ ।