सिन्धुली,४ भदौ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ मा बंगुरमा अफ्रिकन स्वाइन फिभर (एएसएफ) रोगको संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै केही दिनअघि उक्त क्षेत्रमा बंगुरमा देखिएको असामान्य रोगसम्बन्धी नमुना परीक्षणबाट एएसएफ रोग पुष्टि भएको जानकारी दिएको हो ।
गाउँपालिकाका अनुसार वडा नं. २ मा बंगुरमा देखिएको रोगको नमुना केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर, काठमाडौंमा परीक्षण गरिएको थियो । प्रयोगशालाबाट प्राप्त प्रतिवेदनमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएपछि संक्रमण थप फैलिन नदिन पशुपालक कृषकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
गाउँपालिकाले जारी गरेको सूचनामा एएसएफ रोगको संक्रमण नियन्त्रणका लागि बंगुर पालक कृषकहरूले जैविक सुरक्षाका उपाय अनिवार्य रूपमा अवलम्बन गर्नुपर्ने उल्लेख गरेको छ । सूचनामा बिरामी, कमजोर वा शंकास्पद बंगुरलाई स्वस्थ बंगुरबाट तत्काल अलग राख्न, बंगुरको खोर तथा पालनस्थलमा नियमित सरसफाइ गर्न र आवश्यकताअनुसार निसंक्रमण प्रयोग गर्न आग्रह गरिएको छ ।
त्यस्तै, बंगुर फार्ममा बाहिरी व्यक्ति तथा अन्य जनावरको अनावश्यक आवतजावत नियन्त्रण गर्न, फार्ममा प्रयोग हुने उपकरण, दाना, पानी तथा अन्य सामग्रीको स्वच्छतामा विशेष ध्यान दिन गाउँपालिकाले अनुरोध गरेको छ । कृषकहरूलाई नयाँ बंगुर खरिद गर्दा स्वास्थ्य परीक्षण भएको सुनिश्चित गर्न तथा शंकास्पद अवस्थामा रहेका बंगुरको ओसारपसार नगर्न पनि सचेत गराइएको छ ।
गाउँपालिकाले मासु पसल तथा बिक्री केन्द्रहरूमा समेत सरसफाइ कायम राख्न र रोगको जोखिम बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । सूचनामा बंगुरमा अस्वाभाविक मृत्यु भएमा वा रोगका लक्षण देखिएमा तत्काल गाउँपालिकाको पशु सेवा शाखा वा सम्बन्धित प्राविधिकलाई जानकारी गराउन भनिएको छ ।
अफ्रिकन स्वाइन फिभर बंगुर प्रजातिमा देखिने अत्यन्त संक्रामक भाइरल रोग हो । यो रोगका कारण ठूलो संख्यामा बंगुरको मृत्यु हुन सक्ने भए पनि हालसम्म यसको प्रभावकारी खोप तथा औषधि उपचार उपलब्ध नरहेको गाउँपालिकाले जनाएको छ । रोग नियन्त्रणका लागि समयमै पहिचान, संक्रमण रोकथाम र जैविक सुरक्षा नै प्रमुख उपाय रहेको सूचनामा उल्लेख गरिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाले सम्पूर्ण बंगुर पालक कृषकलाई सतर्क रहँदै निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ । साथै, रोग नियन्त्रणका लागि पशु सेवा कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने जनाएको छ ।