शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आफ्नै बजार धान्न नसक्ने नेपालले चीनलाई भैसिको मासु बेच्ने सपनामा

बिहिवार , श्रावण २१, २०८३


काठमाडौं,२१ साउन – सरकारले चीनको विशाल बजारलाई लक्षित गर्दै नेपाली भैँसीको मासु निर्यात गर्ने योजनालाई आर्थिक सम्भावनाको नयाँ ढोकाका रूपमा अघि सारेको छ । चीनको ठूलो उपभोक्ता बजार, विदेशी लगानी आकर्षित हुने सम्भावना र निर्यातबाट प्राप्त हुने आम्दानीको अपेक्षाले यो योजना महत्वाकांक्षी देखिए पनि नेपालको वर्तमान उत्पादन अवस्था, पशुपालनको घट्दो आधार र आवश्यक पूर्वाधारको अभावले यसको व्यवहारिक पक्षमाथि प्रश्न उठाएको छ ।

नेपालले आफ्नै आन्तरिक मागसमेत पूर्ण रूपमा धान्न नसकिरहेको अवस्थामा ठूलो परिमाणमा चीनलाई मासु निर्यात गर्ने लक्ष्य पूरा गर्न पर्याप्त तयारी आवश्यक देखिन्छ । हाल नेपालमा भैँसीको संख्या करिब २९ देखि ३० लाखको हाराहारीमा रहेको अनुमान छ, जुन पछिल्ला तीन दशकयताकै न्यून स्तर हो । वार्षिक भैँसीको मासु उत्पादन पनि करिब १ लाख १६ हजार मेट्रिक टन मात्र रहेको बताइन्छ । उत्पादन घट्दै गएको अवस्थामा निर्यातका लागि आवश्यक परिमाण, गुणस्तर र निरन्तर आपूर्ति सुनिश्चित गर्नु मुख्य चुनौती बनेको छ ।

नेपालको आन्तरिक बजारमा समेत राँगा–भैँसीको मासुको माग उच्च छ । मःम, छोइला, सुकुटी तथा होटल–रेस्टुरेन्ट क्षेत्रमा यसको खपत व्यापक छ । तर विभिन्न अध्ययन र व्यवसायीहरूको अनुमानअनुसार नेपालमा खपत हुने राँगा–भैँसीमध्ये करिब ७० प्रतिशतसम्म भारतबाट अवैध रूपमा भित्रिने गरेको बताइन्छ । यसले नेपाल अझै आफ्नै मासु उत्पादनमा आत्मनिर्भर बन्न नसकेको देखाउँछ ।

भारतबाट ल्याइएका राँगा–भैँसीको मासु चीन पठाएर व्यापार गर्ने विकल्प पनि व्यवहारिक देखिँदैन । चीनले नेपालबाट आयात गरिने मासुका लागि नेपालमै जन्मिएका, हुर्किएका र रोगमुक्त अवस्थामा पालिएका भैँसी मात्र स्वीकार गर्ने सर्त राखेको छ । भारतबाट आयात गरिएका पशुको मासु चिनियाँ बजारमा निर्यात गर्न नपाइने व्यवस्था छ । चीनको भन्सार, स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रणाली कडा भएकाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरी निर्यात सम्भव छैन ।

चीनको बजारलाई लक्षित गर्दै नेपालमा चिनियाँ लगानीसहित तीन ठूला मासु प्रशोधन उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । सिन्धुलीको मरिण गाउँपालिका–४ मा स्थापना भइरहेको हिमालयन फूड इन्टरनेसनल परियोजनामा चीनका चेङ्दु जियान फूड र शाङ्घाई जियान फूडसँग साझेदारी गरिएको छ । यस परियोजनाका लागि उद्योग विभागबाट करिब २० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको छ । उद्योगले वार्षिक २ लाख मेट्रिक टन मासु तथा ५५ हजार मेट्रिक टन छाला र अन्य सहउत्पादन प्रशोधन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, मकवानपुरको बकैया गाउँपालिकामा मनास्लु मिट्स प्रालि र इन्टरनेसनल मिट प्रोसेसिङ एभरेष्ट प्रालि स्थापना गर्ने तयारी भइरहेको छ । यी उद्योगहरूले चीनको मापदण्डअनुसार रोगमुक्त र गुणस्तरीय भैँसीको मासु उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखेका छन् ।
चीनले नेपाली भैँसीको मासु आयातका लागि कडा स्वास्थ्य तथा गुणस्तर मापदण्ड तोकेको छ । भैँसी नेपालमै जन्मिएको र हुर्किएको हुनुपर्ने, उमेर ३० महिनाभन्दा कम हुनुपर्ने, कम्तीमा तीन महिना रोगमुक्त क्षेत्रमा पालन गरिएको हुनुपर्ने तथा अन्तर्राष्ट्रिय पशु स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ । त्यसका लागि इलामदेखि सिन्धुली, हरिहरपुर, मकवानपुरको बकैया तथा बागमती क्षेत्रलाई रोगमुक्त क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

भैँसीको अभाव पूर्ति गर्न उद्योगहरूले नयाँ उत्पादन मोडल अपनाउने तयारी गरेका छन् । पहिलो चरणमा करिब २ लाख पाडापाडी संकलन गर्ने, उद्योग आफैँले व्यावसायिक पालन गर्ने, किसानसँग सम्झौता खेती (कन्ट्र्याक्ट फार्मिङ) गर्ने तथा किसानलाई पाडापाडी, दाना र प्राविधिक सहयोग उपलब्ध गराउने योजना बनाइएको छ । उत्पादन भएपछि उद्योगले पूर्वनिर्धारित मूल्यमा खरिद गर्ने प्रस्ताव अघि सारिएको छ । सरकारले पनि व्यावसायिक भैँसी पालन प्रवद्र्धनका लागि ५० प्रतिशतसम्म अनुदान दिने कार्यविधि ल्याएको जनाएको छ ।

तर उत्पादन लागत वृद्धि, दानाको महँगो मूल्य, युवा जनशक्तिको विदेश पलायन, पशु रोग नियन्त्रणमा कमजोरी, आधुनिक फार्मको अभाव, किसानले उचित मूल्य नपाउनु र कमजोर बजार व्यवस्थापनजस्ता समस्या समाधान नगरी निर्यात लक्ष्य हासिल गर्न कठिन देखिन्छ ।

यद्यपि चीनजस्तो विशाल बजारमा पहुँच पाउनु नेपालका लागि महत्वपूर्ण अवसर बन्न सक्छ । रोगमुक्त क्षेत्र विकास, आधुनिक पशुपालन, किसान प्रोत्साहन र उत्पादन लागत घटाउन सके भैँसी पालनले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै रोजगारी र विदेशी मुद्रा आर्जनको नयाँ सम्भावना सिर्जना गर्न सक्छ ।

तर निर्यातको आधार केवल घोषणा होइन, पर्याप्त उत्पादन र व्यवस्थित तयारी हो। नेपालले पहिले आफ्नै बजारको आवश्यकता पूरा गर्ने क्षमता विकास गर्दै किसानलाई उत्पादनमा आकर्षित गर्न सके मात्र चीन निर्यातको सपना दीर्घकालीन सफलतामा रूपान्तरण हुन सक्छ ।

प्रतिक्रिया