शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीपछि रामेछापमा खयर अवैध कटानी तीव्र

बिहिवार , श्रावण २१, २०८३

रामेछाप,२१ साउन — सिन्धुलीमा लामो समयदेखि हुँदै आएको खयर तस्करी पछिल्लो समय रामेछापतर्फ सरेको पाइएको छ । बहुमूल्य वनस्पति खयरको अवैध कटानी रामेछापका सुनकोशी किनार आसपासका सामुदायिक वन क्षेत्रमा बढ्दै गएको स्थानीयको भनाइ छ । यसअघि सिन्धुलीको दुधौली, गोलन्जोर र सुनकोशी क्षेत्रबाट भइरहेको खयर तस्करी भएका थिए । सोही क्रममा बागमती प्रदेश वन निर्देशनालयले गरेको अनुगमनले सिन्धुलीको सुनकोशी गाउँपालिका–खाल्टे क्षेत्रमा वन कर्मचारीकै मिलेमतोमा सामुदायिक वनका खयरका रूख काटिएको पुष्टि गरेको थियो ।

अहिले खयर तस्करीमा संलग्न समूहले रामेछापका विभिन्न सामुदायिक वनलाई निशाना बनाएको स्थानीयले बताएका छन् । विशेषगरी रामेछाप नगरपालिका–८ स्थित टाउके डाँडा सामुदायिक वन र वडा नं. ९ को टाहार सिन्मेती सामुदायिक वन क्षेत्रमा पछिल्लो एक सातादेखि ठूलो मात्रामा खयर कटान भइरहेको स्थानीयको दाबी छ । सामुदायिक वन तथा खोल्साका किनारमा रहेका खयरका रूखहरू अनुमति बिना काटिएको उनीहरूको आरोप छ ।

सुनकोशी नदी किनार हुँदै मध्यपहाडी लोकमार्ग नजिकका क्षेत्रमा समेत खयर कटान भइरहेको स्थानीयले बताएका छन् । कटान गरिएका स्थानमा खयरका ठुटा देखिने र जंगल क्षेत्रमा काटिएका काठ लुकाएर राखिएको अवस्थामा भेटिएको उनीहरूको भनाइ छ । रामेछाप–९ को डाँडा क्षेत्रमा प्लास्टिकले छोपेर राखिएको खयरसमेत भेटिएको स्थानीयले बताएका छन् ।

यता डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशंकर प्रसाद जयसवालले जिल्लामा हाल कुनै पनि स्थानमा खयर कटानका लागि अनुमति नदिइएको बताएका छन् । वन कार्यालयले खयर कटानको अनुमति नदिएको दाबी गरे पनि विभिन्न क्षेत्रमा अवैध रूपमा कटान जारी रहेको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार केही व्यक्तिले निजी जग्गामा खयर कटानका लागि अनुमति लिने र सोही कागजातको दुरुपयोग गर्दै सामुदायिक वनबाट काटिएको खयरलाई निजी जग्गाबाट ल्याइएको देखाएर ढुवानी अनुमति लिने गरेका छन् । यस प्रक्रियामा केही वन कर्मचारीको समेत संलग्नता रहेको आशंका स्थानीयले व्यक्त गरेका छन् ।

खयर कटानको विरोध गर्ने स्थानीयलाई धम्की दिने तथा केही व्यक्तिलाई आर्थिक प्रलोभन दिएर मौन बनाउने प्रयास हुने गरेको एक स्थानीयले बताएका छन् । अवैध कटानी खुलेआम भइरहे पनि डर र दबाबका कारण धेरै स्थानीयले सार्वजनिक रूपमा विरोध गर्न नसकेको उनीहरूको भनाइ छ ।

खयर बहुउपयोगी र उच्च मूल्य भएको वनस्पति हो । आयुर्वेदिक उपचारमा यसको प्रयोग पाचन शक्ति सुधार गर्न, अतिसार नियन्त्रण गर्न, घाउ–खटिरा निको पार्न तथा बाथ र मर्केका जोर्नीमा लेपका रूपमा गरिन्छ । औषधिजन्य सामग्री उत्पादनका साथै फर्निचर तथा अन्य उपकरण निर्माणमा समेत यसको प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च रहेको जानकारहरू बताउँछन् ।

वन विज्ञहरूका अनुसार सामान्यतया ३० देखि ४० वर्ष उमेर पुगेका खयरका रूख मात्र कटान योग्य मानिन्छन् । तर तस्करीमा संलग्न समूहले उमेर नपुगेका तथा भेटिएका सबै खयरका रूख काट्ने गरेको स्थानीयको गुनासो छ । यसरी अनियन्त्रित दोहन भइरहे भविष्यमा औषधीय प्रयोजनका लागि समेत जंगलमा खयर दुर्लभ हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

स्थानीयले खयर संरक्षणका लागि तत्काल प्रभावकारी अनुगमन, अवैध कटानीमा संलग्नमाथि अनुसन्धान तथा दोषीलाई कारबाही गर्न माग गरेका छन् । वन संरक्षणको जिम्मेवारी पाएका निकायको सक्रियता र पारदर्शी अनुगमन नभए बहुमूल्य खयर स्रोत नै समाप्त हुने जोखिम बढ्ने उनीहरूको चेतावनी छ । स्रोत : सिन्धुली मंसिर चार ।

प्रतिक्रिया