काठमाडौं, ०५ साउन — रोजगार अनुमति प्रणालीअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि जान चाहने नेपाली नागरिकबाट कोरियन भाषा परीक्षाको आवेदन माग गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई निर्धारित समयभित्र अनलाइन आवेदन दिन आह्वान गरेको हो।
नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीपत्रअनुसार सञ्चालन हुँदै आएको रोजगार अनुमति प्रणालीअन्तर्गत यसपटक विभिन्न चार क्षेत्रमा गरी कुल ७ हजार २ सय नेपाली श्रमिकको माग आएको छ। एचआरडी कोरियाबाट प्राप्त मागका आधारमा भाषा परीक्षा सञ्चालन गर्न आवेदन प्रक्रिया अघि बढाइएको ईपीएस कोरिया शाखाले जनाएको छ।
प्राप्त विवरणअनुसार उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी ५ हजार श्रमिकको माग गरिएको छ। त्यसैगरी कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय श्रमिकको माग आएको छ। सम्बन्धित क्षेत्रमा रोजगारीका लागि जान इच्छुक व्यक्तिले कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ।
परीक्षामा सहभागी हुन चाहने उम्मेदवारले २०२६ जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिन उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको व्यक्ति मात्र आवेदन दिन योग्य हुनेछ।
यसअघि दक्षिण कोरिया गई गैरकानुनी रूपमा बसोबास गरेको र त्यहाँबाट फिर्ता पठाइएको व्यक्ति परीक्षामा सहभागी हुन पाउने छैन। नेपाल सरकारले अन्य मुलुकमा जान रोक लगाएको व्यक्ति पनि आवेदनका लागि योग्य नहुने सूचनामा उल्लेख छ। यस्तै, दक्षिण कोरियामा ई–९ वा ई–१० प्रवेशाज्ञामा पाँच वर्ष वा सोभन्दा बढी समय बसेका व्यक्तिले समेत आवेदन दिन पाउने छैनन्।
कोरियन भाषा परीक्षाको आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ। पहिलो चरणमा सञ्चालन हुने भाषा परीक्षाको नतिजा सार्वजनिक भएपछि सफल उम्मेदवारका लागि अर्को चरणको परीक्षा सञ्चालन गरिनेछ। विभिन्न चरणका परीक्षा पूरा गरी अन्तिम रूपमा उत्तीर्ण भएका उम्मेदवारको नतिजाको वैधता नतिजा प्रकाशन भएको मितिले दुई वर्षसम्म कायम रहनेछ।
ईपीएस कोरिया शाखाले भाषा परीक्षा उत्तीर्ण गर्नु मात्र दक्षिण कोरियामा रोजगारी प्राप्त हुने सुनिश्चितता नभएको स्पष्ट पारेको छ। भाषा परीक्षामा सफल भएपछि पनि सीप परीक्षण, स्वास्थ्य परीक्षण, रोजगारदाता छनोटलगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ। सबै प्रक्रिया पूरा गरेका उम्मेदवारमध्ये दक्षिण कोरियाली रोजगारदाताबाट छनोट भएका व्यक्तिले मात्र रोजगारीका लागि दक्षिण कोरिया जान पाउनेछन्।