काठमाडौँ,०४ साउन – प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार नेपालको पुँजी बजार र बिमा क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन् । तर, अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित यो महत्वपूर्ण बैठकमा विभागीय जिम्मेवारी सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी नहुने भएपछि सरकारभित्रको समन्वय र कार्यशैलीबारे नयाँ प्रश्न उठेको छ । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई सहभागी नगराई अर्थतन्त्रका विषयमा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्न लागेको यो पहिलो अवसर भने होइन। पछिल्ला दिनमा यस्ता बैठकहरू निरन्तर हुँदै आएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार छलफलको मुख्य एजेन्डा सेयर बजारको वर्तमान अवस्था, लगानीकर्ताको मनोबल अभिवृद्धि, आवश्यक नीतिगत सुधार तथा पुँजी बजारलाई थप व्यवस्थित र विश्वसनीय बनाउने उपायमा केन्द्रित रहनेछ । बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्जका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ तथा लगानीकर्ता एवं सेयर ब्रोकर अम्बिकाप्रसाद पौडेल र प्रियाराज रेग्मीलाई आमन्त्रण गरिएको छ ।
पछिल्लो करिब एक महिनादेखि प्रधानमन्त्री शाहले अर्थतन्त्रका विविध क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग विभागीय मन्त्रीको सहभागिताबिनै संवादलाई निरन्तरता दिएका छन् । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डासँग दातृ निकायको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले भएको भेटदेखि नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी तथा पर्यटन व्यवसायीसँग भएका छलफलसम्म अर्थमन्त्री वाग्ले सहभागी थिएनन् । उद्योग–व्यवसायका समस्या समाधान, निर्माण क्षेत्रको सुस्तता हटाउने, पर्यटन पुनरुत्थान र स्वदेशी उत्पादन प्रवद्र्धनजस्ता विषयमा प्रधानमन्त्रीले सम्बन्धित पक्षसँग प्रत्यक्ष छलफल गर्दै आएका छन् ।
सरकारभित्र प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच कार्यशैली मात्र होइन, नीतिगत दृष्टिकोणमा समेत मतभेद देखिएको चर्चा छ । अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमार्फत शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत तथा संवेदनशील क्षेत्रमा कर लगाइएको विषयप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको बताइन्छ । ती निर्णयले जनस्तरमा सरकारलाई असहज बनाएको प्रधानमन्त्रीको बुझाइ रहेको स्रोतहरूको दाबी छ । त्यस्तै, अर्थतन्त्रका सूचकमा अपेक्षित सुधार नदेखिनु, बजेट कार्यान्वयन सुस्त रहनु, सरकार र दलबीच समन्वय कमजोर हुनु तथा अर्थ मन्त्रालयका निर्णयबारे प्रधानमन्त्रीलाई पर्याप्त जानकारी नपुग्नुले पनि दुवै पक्षबीचको अविश्वास बढाएको चर्चा भइरहेको छ ।
यता प्रधानमन्त्रीले अर्थ मन्त्रालयका काममा प्रत्यक्ष चासो बढाउँदै अर्थमन्त्रीलाई बेवास्ता गरेको आकलनबीच राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि यसबारे बहस सुरु भएको बताइन्छ । यही पृष्ठभूमिमा शनिबार रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा. वाग्लेबीच काभ्रेको धुलिखेलस्थित दुसित थानी रिसोर्टमा लामो छलफल भएको थियो। प्रधानमन्त्रीको पछिल्लो कार्यशैली र सम्भावित राजनीतिक अवस्थाबारे केन्द्रित रहेको भनिएको उक्त भेटपछि अर्थमन्त्री परिवर्तन हुन सक्ने चर्चा थप चुलिएको छ । यद्यपि प्रधानमन्त्रीको सचिवालय वा रास्वपाले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । तथापि, अर्थतन्त्रसँग सम्बन्धित छलफलमा अर्थमन्त्रीको निरन्तर अनुपस्थिति र धुलिखेलमा भएको रवि–स्वर्णिम भेटले सरकारभित्रको सम्बन्ध र मन्त्री हेरफेरबारे अनुमानलाई थप बल दिएको छ ।