सिन्धुली ,२४ जेठ— सिन्धुली, रामेछाप र दोलखा जिल्लाका किसानले यस वर्ष पनि आवश्यक मात्रामा रासायनिक मल नपाउने संकेत देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीको गोदाममा पर्याप्त परिमाणमा मल आपूर्ति हुन नसक्दा खेतीपातीको मुख्य सिजनमा किसान पुनः मल अभावको समस्यासँग जुध्न बाध्य हुने अवस्था देखिएको हो ।
बागमती प्रदेश सरकारले निर्धारण गरेको कोटाअनुसार कृषि सामग्री कम्पनी लिमिटेडमार्फत रासायनिक मल वितरण गरिँदै आएको छ । प्रदेश सरकारले तोकेको कोटा तथा उपलब्धताको आधारमा मल वितरण हुने व्यवस्था रहे पनि वास्तविक आवश्यकता अनुसारको परिमाणमा मल उपलब्ध गराउन नसकिएको अवस्था यस वर्ष पनि दोहोरिने देखिएको छ ।
सिन्धुली, रामेछाप र दोलखा जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल, बालीको प्रकृति तथा कृषकको आवश्यकता हेर्दा वार्षिक रूपमा करिब २६ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने आँकडा रहेको छ । तर कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीले सार्वजनिक गरेको वितरण योजनाअनुसार चालु वर्षमा ती तीन जिल्लाका लागि जम्मा आठ हजार मेट्रिक टन रासायनिक मल मात्र उपलब्ध गराइने भएको छ ।
आवश्यकता र उपलब्धताबीचको अन्तर निकै ठूलो रहेकाले किसानले मागअनुसार मल प्राप्त गर्न कठिन हुने देखिएको छ । आवश्यक २६ हजार मेट्रिक टनको तुलनामा आठ हजार मेट्रिक टन मात्र वितरण हुने अवस्था सिर्जना हुँदा अधिकांश किसान पर्याप्त मलबाट वञ्चित हुने सम्भावना बढेको छ । यसले खेतीपातीको उत्पादन तथा उत्पादकत्वमा समेत असर पार्न सक्ने चिन्ता कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाले व्यक्त गर्दै आएका छन् ।
रासायनिक मल कृषि उत्पादनको महत्वपूर्ण आधार मानिन्छ । विशेषगरी धान, मकै, गहुँ तथा अन्य खाद्यान्न बालीका लागि मलको समयमै उपलब्धता अत्यन्त आवश्यक हुन्छ । तर प्रत्येक वर्षजस्तै यस वर्ष पनि आपूर्तिको अभावका कारण किसानले सहज रूपमा मल प्राप्त गर्न नसक्ने अवस्था देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममै पर्याप्त मल मौज्दात नभएका कारण वितरण प्रणालीमा समेत दबाब बढ्ने देखिएको छ ।
बागमती प्रदेश सरकारले तोकेको कोटाअनुसार वितरण गरिने भए पनि उपलब्ध मलको मात्रा आवश्यकता अनुरूप नहुँदा कृषकको माग पूरा हुन नसक्ने अवस्था स्पष्ट देखिएको छ । तीन जिल्लाका हजारौँ किसानले खेतीको समयमा आवश्यक पर्ने मलका लागि कृषि सामग्री कम्पनीका बिक्री केन्द्र तथा स्थानिय पालिकाले तोकेके डिपोमा निर्भर रहँदै आएका छन् । तर आपूर्ति सीमित हुँदा सबै किसानसम्म पर्याप्त परिमाणमा मल पु¥याउन चुनौती देखिएको छ ।
सिन्धुली, रामेछाप र दोलखा जिल्लामा कृषि नै अधिकांश नागरिकको मुख्य पेशा तथा आयआर्जनको स्रोत हो । यस्तो अवस्थामा मल अभावले प्रत्यक्ष रूपमा कृषि उत्पादन प्रणालीलाई प्रभावित पार्ने सम्भावना रहेको कृषि क्षेत्रका जानकारहरू बताउँछन् । समयमै आवश्यक मात्रामा मल उपलब्ध हुन नसके उत्पादन लागत बढ्ने, वैकल्पिक स्रोतको खोजी गर्नुपर्ने तथा कतिपय अवस्थामा खेतीको उत्पादकत्व नै घट्ने जोखिम रहने उनीहरूको भनाइ छ ।
यस वर्षका लागि कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीले आठ हजार मेट्रिक टन रासायनिक मल वितरण गर्ने आँकडा सार्वजनिक गरेसँगै किसानमा पर्याप्त मल उपलब्ध हुने आशा कमजोर बनेको छ । आवश्यकताको तुलनामा उपलब्धता निकै कम रहेकाले खेतीको सिजन नजिकिँदै जाँदा मल अभावको समस्या अझ गम्भीर बन्न सक्ने देखिएको छ ।
तीन जिल्लाका लागि आवश्यक २६ हजार मेट्रिक टन रासायनिक मलमध्ये आठ हजार मेट्रिक टन मात्र वितरण हुने अवस्थाले प्रदेशका कृषक पुनः पुरानै समस्याबाट गुज्रिनुपर्ने संकेत गरेको छ । पर्याप्त आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी पहल नगरे किसानले यस वर्ष पनि आवश्यक मात्रामा रासायनिक मल नपाउने अवस्था कायम रहने देखिएको छ ।