सिन्धुली, २३ जेठ — विद्यालयहरूको आर्थिक अनुशासन, पारदर्शिता तथा जिन्सी व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कमलामाई नगरपालिकामा माध्यमिक तथा आधारभूत तह (कक्षा १–८) लक्षित दुईदिने लेखा तथा जिन्सी व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ ।
कमलामाई नगरपालिका आन्तरिक लेखापरीक्षण शाखाको आयोजनामा सञ्चालित उक्त तालिम शनिबार नगरपालिकाको सभाहलमा औपचारिक रूपमा उदघाटन गरिएको हो । विद्यालय तहमा वित्तीय तथा जिन्सी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिममा विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा लेखापालहरूको सहभागिता रहेको छ ।
नगरपालिकाका अनुसार विद्यालयहरूमा सञ्चालन हुने आर्थिक गतिविधि तथा जिन्सी व्यवस्थापन प्रक्रियालाई कानुनी व्यवस्था र प्रचलित मापदण्डअनुरूप प्रभावकारी बनाउन तालिम आयोजना गरिएको हो । तालिमबाट विद्यालय प्रशासनलाई वित्तीय अभिलेख व्यवस्थापन, खर्चको पारदर्शिता, जिन्सी सामग्रीको अभिलेखीकरण तथा उत्तरदायी व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
तालिम अवधिभर विद्यालयको लेखा प्रणाली, जिन्सी व्यवस्थापन, अभिलेख संरक्षण, प्रतिवेदन तयारी तथा आन्तरिक नियन्त्रण प्रणालीसँग सम्बन्धित विविध विषयमा सहजीकरण गरिने जनाइएको छ । कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिहरूलाई व्यवहारिक तथा प्राविधिक पक्षबारे समेत जानकारी प्रदान गरिनेछ ।
उक्त उददाटन कार्यक्रमको सञ्चालन कमलामाई नगरपालिकाका स्रोत विज्ञ कुमार ढकालले गरेका थिए । नगरपालिकाले विद्यालय तहको आर्थिक तथा प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ, पारदर्शी र उत्तरदायी बनाउने अभियानअन्तर्गत यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
कार्यक्रमको उदघाटन कमलामाई नगरपालिका लेखा समिति संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष विनोद कुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । उदघाटन सत्रमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकाल, आन्तरिक लेखा परीक्षण शाखा प्रमुख सुशिल कुमार वर्मा, शिक्षा शाखा प्रमुख सरजीत तामाङ, स्रोत विज्ञ कुमार ढकाल, कार्यक्रम सहजकर्ता संजित बुढाथोकी तथा आन्तरिक लेखा परीक्षण अधिकृत जगदिश विक्रम कार्कीको उपस्थिति रहेको थियो ।
त्यसैगरी सम्बन्धित शाखाका कर्मचारीहरू, विभिन्न माध्यमिक विद्यालय तथा आधारभूत तहका विद्यालयका प्रधानाध्यापक, लेखापाल तथा सरोकारवाला व्यक्तिहरूको समेत उल्लेखनीय सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।