सिन्धुली, २० जेठ — कमलामाई नगरपालिका–५ आहालेकी उर्मिला नेपालीको दैनिकी अहिले व्यावसायिक कृषि र पशुपालनसँग गाँसिएको छ । बिहान सबेरै गोठको सरसफाइदेखि दूध दुहुने, डेरीमा दूध पुर्याउने र पशुका लागि आहार व्यवस्थापन गर्ने काममा व्यस्त रहने उर्मिलाले केही वर्षअघिसम्मको संघर्षपूर्ण जीवनलाई पछाडि छाड्दै आज सफल कृषकका रूपमा आफूलाई स्थापित गरेकी छिन् ।
उनको गोठमा उन्नत जातका जर्सी गाई पालिएका छन् । कोरली, तारी, मुररी र गोठु नामले चिनिने ती गाईमध्ये हाल दुईवटाले दैनिक करिब ३५ लिटर दूध उत्पादन गरिरहेका छन् भने अन्य दुईवटा ब्याउने तयारीमा छन् । दूध बिक्रीबाट मासिक करिब ३५ हजार रुपैयाँ बचत हुने गरेको उर्मिलाको भनाइ छ ।
पशुपालनसँगै व्यावसायिक तरकारी खेती पनि उनको आम्दानीको महत्वपूर्ण आधार बनेको छ । दुई कठ्ठा जमिनमा गरिएको सुधारिएको तरकारी खेतीबाट मासिक २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताईन । घरपरिवारको पोषण सुनिश्चित गर्न विभिन्न फलफूलसमेत रोपिएका छन् । यसले बजारमा निर्भरता घटाउनुका साथै पारिवारिक पोषणस्तर सुधार्न सहयोग पुगेको छ ।
दूध र तरकारी बिक्रीबाट मासिक ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल उर्मिलाले यही आयस्रोतका आधारमा छोरीलाई पोखरामा चिकित्साशास्त्र अध्ययन गराउन र छोरालाई जापान पठाउन सकेको बताइन । “पहिले आफूलाई खानसमेत मुस्किल हुन्थ्यो, अहिले यही व्यवसायले सन्तानको भविष्य निर्माण गर्न सहयोग गरिरहेको छ,” उनले भनि ।
तर उर्मिलाको वर्तमान अवस्था सधैं यस्तै थिएन। केही वर्षअघि उनिसँग एउटा मात्र भैंसी थियो । घाँसको जोहो गर्न जंगल धाउनुपर्ने, श्रम धेरै र आम्दानी न्यून हुँदा जीविकोपार्जन नै चुनौतीपूर्ण बनेको थियो । त्यही अवस्थामा परिवर्तन ल्याउने आधार बन्यो वल्र्ड नेवर्ससँगको साझेदारीमा सिड्स नेपालद्वारा सञ्चालित नेपाल एकीकृत ग्रामीण विकास परियोजना ।
परियोजनाअन्तर्गत गाउँमै स्थापना गरिएको आहाले कृषि सिकाइ केन्द्र उर्मिलाको जीवन परिवर्तनको प्रमुख माध्यम बन्यो । केन्द्रबाट उनले व्यक्तित्व विकास, नेतृत्व क्षमता, पोषण, सरसफाइ, फोहोर व्यवस्थापन तथा व्यवसायिक कृषि सम्बन्धी सीप हासिल गरिन । प्राप्त ज्ञानले परम्परागत कृषि प्रणालीलाई व्यवस्थित र व्यवसायिक ढंगले सञ्चालन गर्न प्रेरित गरेको उनि बताउछिन ।
परियोजनामार्फत प्राप्त पोषणयुक्त घाँसका बिरुवाले बाँझो जमिनलाई उत्पादनशील बनाएको छ । अहिले आफ्नै कृषि वनमा उत्पादन हुने घाँसले वर्षभरि पशुका लागि आवश्यक आहार पुग्ने गरेको छ । यसले जंगलमा निर्भरता हटाउनुका साथै समय, श्रम र लागतसमेत उल्लेखनीय रूपमा घटाएको छ ।
उर्मिलाका अनुसार सिकाइ केन्द्रले उत्पादन वृद्धि मात्र होइन, जीवनशैली र सोचाइमा समेत परिवर्तन ल्याएको छ । स्थानीय स्रोतको प्रभावकारी उपयोग, सामुदायिक सिकाइ र प्राविधिक सहयोगको संयोजनले ग्रामीण महिलाको जीवनमा दिगो रूपान्तरण सम्भव हुने उदाहरण उनि स्वयं बनेकी छिन ।
एउटा भैंसी पाल्न संघर्ष गर्नुपरेको अवस्थाबाट व्यावसायिक कृषकको पहिचान बनाउन सफल उर्मिलाको यात्रा ग्रामीण विकासमा ज्ञान, सीप र अवसरको महत्व उजागर गर्ने प्रेरणादायी उदाहरण बनेको छ । यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउन सकिए ग्रामीण समुदायको जीवनस्तर उकास्नुका साथै समग्र राष्ट्रिय समृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । स्रोत ः सर्वदा सञ्चार ।