सिन्धुली,०९ जेठ— जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित सिन्धुलीमाडीमा लाग्ने साप्ताहिक हाटबजार पछिल्लो समय बिचौलियाको प्रभावले महँगो बन्दै गएको छ । हरेक शनिबार सञ्चालन हुने हाटमा किसानले आफ्नै खेतबारी तथा गोठमा उत्पादन गरेका तरकारी, सागसब्जीदेखि खसीबोकासम्मका वस्तु बिक्री गर्दै आएका छन् । यही बजारले ग्रामीण किसानलाई नगद आम्दानीको अवसर मात्र दिएको छैन, स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
तर पछिल्ला महिनामा खसीबोकाको मूल्य अस्वाभाविक रूपमा बढ्न थालेपछि उपभोक्ता मारमा परेका छन् । हाटमा आउने ग्राहकहरूका अनुसार बिचौलियाको बढ्दो हस्तक्षेपले किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार कमजोर बन्दै गएको छ । किसानबाट खरिद गरिएका खसीबोका पुनः उच्च मूल्यमा बिक्री हुन थालेपछि बजारमा मूल्य नियन्त्रणको चुनौती देखिएको हो ।
शनिबारको हाटमा बिक्रीका लागि ल्याइएका खसीबोकाको मूल्य सुनेर धेरै उपभोक्ता खरिद नगरी फर्किने अवस्था रहेको स्थानीयले बताएका छन् । करिब सात धार्नी तौलको जिउँदो खसी खरिद गर्न २४ देखि २५ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको उपभोक्ताहरूको गुनासो छ ।
कमलामाई नगरपालिका–४ मल्लागाउँ निवासी उपभोक्ता विजय अधिकारीले बजारमा मूल्यको एकरूपता नहुँदा सर्वसाधारण प्रत्यक्ष प्रभावित भएको बताए । “अब हाटमा गएर सहज रूपमा खसी किन्न सकिने अवस्था रहेन,” उनले भने, “किसानलाई पनि घाटा नपर्ने र उपभोक्ताले पनि उचित मूल्यमा खरिद गर्न सक्ने वातावरण बनाउन नगरपालिकाले निश्चित मापदण्डसहित मूल्य निर्धारण गर्न आवश्यक छ ।”
उनका अनुसार जिउँदो खसीको तौलका आधारमा मूल्य निर्धारण गरी जोखेर बिक्री गर्ने व्यवस्था लागू गर्न सके बजारमा पारदर्शिता कायम हुन सक्छ । स्थानीय उपभोक्ताले पनि खुला मूल्य प्रणालीका कारण अनावश्यक मूल्यवृद्धि भएको भन्दै नियमनकारी निकायको ध्यानाकर्षण गराएका छन् ।
हाटबजार व्यवस्थापनबाट स्थानीय तहले कर संकलन गर्दै आए पनि मूल्य नियन्त्रण तथा अनुगमन प्रभावकारी हुन नसकेको गुनासो बढ्दो छ । उपभोक्ताहरूले बजार अनुगमनलाई नियमित बनाउन, बिचौलियाको भूमिका नियन्त्रण गर्न तथा किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबारलाई प्रोत्साहन गर्न माग गरेका छन् ।
स्थानीय किसान भने बढ्दो दाना, औषधि तथा ढुवानी खर्चका कारण मूल्य वृद्धि स्वाभाविक भएको बताउँछन् । यद्यपि उपभोक्ताले भने बजारमा देखिएको मूल्यवृद्धि केवल उत्पादन लागतले मात्र नभई बिचौलियाको चलखेलले पनि बढाएको आरोप लगाएका छन् ।