सिन्धुली,१९ बैशाख – कमलामाई नगरपालिका–४ ज्यामिरे की कृषक विष्णूमाया तामाङले जैविक प्रविधिमा आधारित व्यावसायिक तरकारी खेतीमार्फत ग्रामीण उद्यमशीलताको सशक्त उदाहरण प्रस्तुत गरेकी छिन । परम्परागत खेती प्रणालीबाट क्रमशः उन्नत र दिगो कृषिप्रणालीतर्फ अग्रसर हुँदै उनले बेमौसमी तरकारी उत्पादनलाई आम्दानीको भरपर्दो स्रोत बनाएकी हुन ।
तामाङले आफ्नो बारीमा पूर्ण रूपमा जैविक मल तथा जैविक विषादीको प्रयोग गर्दै आएकी छिन । रासायनिक तत्वको प्रयोग नगरी उत्पादन गरिएको तरकारीले उपभोक्तामाझ स्वास्थ्यप्रद विकल्पको रूपमा स्थान बनाउँदै गएको छ । विशेषगरी बेमौसमी लौका उत्पादनमा उनले उल्लेखनीय सफलता हासिल गरेकी छिन । हाल उनले उत्पादन गरेको लौका प्रतिगोटा एक सय रुपैयाँका दरले बिक्री भइरहेको छ, जसले बजारमा राम्रो माग र मूल्य दुवै कायम रहेको संकेत गर्दछ ।
उनको खेती लौकामा मात्र सीमित छैन । घिरौला, करेला लगायतका विभिन्न बेमौसमी तरकारी उत्पादन गरेर उनले खेतीलाई विविधीकरण गरेकी छिन । यसले एकातिर बजार जोखिम कम गरेको छ भने अर्कोतिर आम्दानीका स्रोतहरू विस्तार गर्न सहयोग पु¥याएको छ । उत्पादन प्रक्रियामा नियमित स्याहार, जैविक विधिबाट रोग तथा कीरा नियन्त्रण, र समयअनुसारको व्यवस्थापनलाई उनले प्राथमिकता दिएकी छिन, जसले उत्पादनको गुणस्तर उच्च राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।
व्यावसायिक रूपमा सञ्चालन गरिएको यस तरकारी खेतीबाट तामाङले हाल मासिक करिब ६० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको उनले बताइन । ग्रामीण परिवेशमा सीमित स्रोतसाधनका बीच पनि परिश्रम, लगनशीलता र नवप्रवर्तनको संयोजनबाट स्थिर आम्दानी सम्भव रहेको उनको अभ्यासले पुष्टि गरेको छ । कृषिमा आत्मनिर्भर बन्ने चाहना राख्ने अन्य कृषकका लागि उनको पहल प्रेरणादायी बन्न पुगेको छ ।
स्थानीय स्तरमा उनको सफलताले जैविक खेतीप्रति आकर्षण बढाएको सरोकारवालाहरू बताउँछन् । वातावरणमैत्री खेती प्रणालीले माटोको उर्वराशक्ति संरक्षण गर्नुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षामा पनि सकारात्मक योगदान पु¥याउने भएकाले यसको विस्तार आवश्यक रहेको उनीहरूको धारणा छ । यस सन्दर्भमा स्थानीय तथा प्रदेश सरकारले प्राविधिक सहयोग, तालिम तथा बजार व्यवस्थापनमा थप पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
ज्यामिरे क्षेत्रमा विष्णूमायाले अघि बढाएको व्यावसायिक खेतीले ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै स्वदेशमै रोजगारी सिर्जनाको सम्भावनालाई समेत उजागर गरेको छ । जैविक विधिमा आधारित यस्तो नमुना अभ्यासको विस्तारले दिगो कृषि विकासको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।
श्रोत : राधिका बुढाथोकी ,सर्वदा सञ्चार