शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

श्रमिकलाई डेढ करोडसम्म सहुलियत ऋण सापटी

शनिवार , बैशाख १९, २०८३

काठमाडौं, १९ वैशाख – सरकारले सामाजिक सुरक्षा कोषमार्फत आवद्ध श्रमिकलाई लक्षित गर्दै सहुलियतपूर्ण घरघडेरी सापटी कार्यक्रम सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले उक्त योजना घोषणा गरेका हुन् ।

मन्त्रालयका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले अब अधिकतम डेढ करोड रुपैयाँसम्म सापटी लिन सक्नेछन् । यस योजनाअन्तर्गत न्यूनतम ६ प्रतिशत वार्षिक व्याजदर निर्धारण गरिएको छ, जसले श्रमिकलाई आवास निर्माण तथा जग्गा खरिदमा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ । मन्त्रालयका प्रवक्ता मेघनाथ रिमालका अनुसार यो कार्यक्रम श्रमिकको आर्थिक स्थायित्व सुदृढ पार्ने दीर्घकालीन रणनीतिक पहलका रूपमा अघि सारिएको हो ।

१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले भिडियो सन्देशमार्फत योजना सार्वजनिक गर्दै श्रमिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । उनले सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै श्रमिकको सामाजिक तथा आर्थिक सुरक्षामा राज्यको उपस्थितिलाई बलियो बनाउने लक्ष्य व्यक्त गरे ।

उक्त अवसरमा मन्त्री यादवले पाँच वर्षे ‘राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम’ को औपचारिक शुभारम्भसमेत गरिएको जानकारी दिए । यस कार्यक्रममार्फत कार्यस्थलमा श्रमिकको सुरक्षा, स्वास्थ्य मापदण्डको सुधार तथा जोखिम न्यूनीकरणमा विशेष ध्यान दिइने जनाइएको छ ।

त्यसैगरी, विदेशस्थित नेपाली राजदूतावासहरूबाट श्रमिकसँग प्रत्यक्ष संवाद सुदृढ गर्न ‘फेसबुक लाइभ’ कार्यक्रमको सुरुवात गरिएको पनि मन्त्री यादवले जानकारी दिए । हरेक साता सञ्चालन हुने यस कार्यक्रममार्फत वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, गुनासा तथा सुझावहरू संकलन गरी समाधानतर्फ पहल गरिने जनाइएको छ ।

सरकारले सार्वजनिक गरेको यो सापटी योजना श्रमिकमैत्री नीतिको रूपमा हेरिएको छ । न्यून व्याजदरमा ठूलो परिमाणको ऋण उपलब्ध गराइने व्यवस्थाले विशेषगरी मध्यम तथा न्यून आय भएका श्रमिकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ । साथै, सामाजिक सुरक्षा कोषप्रति श्रमिकको आकर्षण बढाउने तथा औपचारिक अर्थतन्त्रमा श्रमिकको सहभागिता विस्तार गर्ने दिशामा समेत यो कदम महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया