शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

उत्पादन दोब्बर, मूल्य आधाः सिन्धुलीका किसान मारमा

मंगलवार , बैशाख ८, २०८३


सिन्धुली,०८ बैशाख — स्थानीय तहमा आर्थिक विकास र बीउमा आत्मनिर्भरताको लक्ष्यसहित अघि बढाइएको कृषि प्रयासले उत्पादनतर्फ उत्साहजनक परिणाम देखाएको छ । हरिहरपुरगढी गाउँपालिकामा नेपाली हाईब्रिड जात “रामपुर हाईब्रिड–१०” मकैको प्रयोगबाट उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको कृषकहरूको अनुभवले देखाएको छ । तर उत्पादन बढेसँगै बजार मूल्यमा आएको गिरावटले किसानलाई नयाँ चिन्तामा पारेको छ ।

स्थानीय कृषक सीता राईले गत वर्ष विदेशी मकैको बीउ प्रतिकिलो करिब ८०० रुपैयाँमा खरिद गरी घरछेउको चार कट्ठा जमिनमा खेती गरेकी थिइन । यस वर्ष भने गाउँपालिकाले ६० प्रतिशत अनुदानमा प्रतिकिलो २२५ रुपैयाँमा उपलब्ध गराएको “रामपुर हाईब्रिड–१०” जातको बीउ प्रयोग गरिन । सोही क्षेत्रफलमा गरिएको खेतीबाट अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी उत्पादन प्राप्त भएको उनले बताइन ।

उत्पादनमा आएको वृद्धि र लागतमा भएको कमीले प्रारम्भिक रूपमा उत्साह थपे पनि बजारमा मकै बिक्री गर्ने चरणमा पुगेपछि कृषकको अपेक्षा भने पूरा हुन सकेको छैन । राईका अनुसार अहिले मकै सुकाएर तथा छोडाएर बिक्री गर्दा प्रतिकिलो करिब २८ रुपैयाँ मात्र पाइन्छ । यसले उत्पादन लागत, श्रम र समयको तुलनामा उचित मूल्य नपाएको अनुभूति गराएको छ ।

“उत्पादन बढ्यो भनेर खुसी लाग्यो, तर बेच्ने बेलामा मूल्य नपाउँदा मेहनतको फल नै खेर गएको जस्तो लाग्छ,” उनले भनिन । कृषकले उत्पादन बढाएर पनि बजार अभाव वा न्यून मूल्यका कारण घाटामा बेच्नुपर्ने अवस्थाले कृषि क्षेत्रप्रति निराशा बढ्न सक्ने चिन्ता व्यक्त गरेकी छिन ।

स्थानीय तहले अनुदानमार्फत उन्नत बीउ उपलब्ध गराएर उत्पादन वृद्धिमा सहयोग पु¥याएको भए पनि बजार व्यवस्थापन र मूल्य सुनिश्चितताको पक्ष अझै कमजोर देखिएको छ । कृषकहरूले उत्पादनसँगै उचित मूल्य सुनिश्चित गर्ने नीति तथा संरचनाको माग गरेका छन् ।

कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई दीगो बनाउन उत्पादनसँगै बजार व्यवस्थापन, भण्डारण र मूल्य स्थिरीकरणका उपाय अपरिहार्य हुने देखिएको छ । अन्यथा उत्पादन वृद्धि भए पनि किसानको आम्दानी सुनिश्चित नहुँदा कृषि पेशाप्रति आकर्षण घट्ने जोखिम रहने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया