काठमाडौँ, ०५ वैशाख — बजारमा एलपी ग्यासको माग उल्लेखनीय रूपमा घटेसँगै आपूर्ति प्रणालीमा असन्तुलन देखिन थालेको छ । आधा तौल (७.१ केजी) को सिलिन्डर वितरण गर्ने सरकारी निर्णय र विद्युतीय ऊर्जामार्फत खाना पकाउने प्रवृत्ति बढ्दै जाँदा ग्यास उद्योगहरूमा सिलिन्डर अभाव र बुलेटमा ग्यास थन्किने समस्या एकैसाथ देखिएको हो ।
नेपाल आयल निगमले आपूर्ति सहज बनाउन फागुन २८ गतेदेखि आधा सिलिन्डर वितरणको व्यवस्था लागू गरेपछि उद्योगीहरू अप्रत्याशित चुनौतीमा परेका छन् । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार आधा सिलिन्डर बजारमा पठाउँदा खाली सिलिन्डरको अभाव सिर्जना भएको छ, जसका कारण बुलेटबाट ग्यास ‘रिफिल’ गर्न कठिनाइ उत्पन्न भएको छ । फलस्वरूप आयातित ग्यास उद्योग र बुलेटमै थन्किन थालेको छ ।
संघका अध्यक्ष दिवान चन्दका अनुसार हाल ग्यासको खपत करिब ५० प्रतिशतले घटेको छ । “बजारमा माग घटेको र खाली सिलिन्डर अभाव हुँदा बुलेटमा ग्यास मौज्दात राख्नुपरेको छ,” उनले बताए । उनका अनुसार आधा सिलिन्डर वितरणले ढुवानी लागतमा पनि असमान भार परेको छ । पूर्ण सिलिन्डर ढुवानी गर्दा लाग्ने करिब २० हजार रुपैयाँ खर्च आधा तौलमा पनि उस्तै पर्ने भएकाले व्यवसायी आर्थिक दबाबमा परेका छन् ।
निगमका तथ्यांकअनुसार सामान्य अवस्थामा मासिक ४५ देखि ४८ हजार मेट्रिक टन ग्यास खपत हुने गरेकोमा पछिल्लो १५ दिनमा १८ हजार मेट्रिक टन मात्र आयात भएको छ । दैनिक ७५–८० बुलेट आउने क्रम घटेर हाल उल्लेख्य रूपमा कमी आएको छ । यद्यपि अभावको समयमा भने दैनिक १०० देखि १२० बुलेटसम्म आयात गरिएको थियो ।
हाल उद्योगहरूमा १२ हजारदेखि १३ हजार मेट्रिक टन ग्यास मौज्दात रहेको छ भने करिब साढे तीन सय बुलेटमा पनि ग्यास सञ्चित छ । एक बुलेटमा औसत १८ मेट्रिक टन ग्यास रहने गर्छ। उद्योगीहरूका अनुसार भण्डारण क्षमता सीमित भएकाले दीर्घकालीन रूपमा यस्तो अवस्था रहे आयात व्यवस्थापनमै समस्या आउन सक्छ ।
उता, ग्यास विक्रेता महासङ्घले उपभोक्तासँग पनि ग्यास सञ्चित भइरहेकाले बजारमा असन्तुलन बढेको जनाएको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले पुनः पूर्ण तौल (१४.२ केजी) को सिलिन्डर वितरणमा फर्कनुपर्ने आवश्यकता औँल्याए ।
निगमका प्रवक्ता मनोज ठाकुरले भने अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै नीति परिवर्तन तत्काल सम्भव नभएको स्पष्ट पारे । “आपूर्ति र मूल्य दुवै पक्ष सन्तुलनमा राख्नुपर्ने भएकाले निर्णय सावधानीपूर्वक गर्नुपर्छ,” उनले बताए ।
हाल बजारमा करिब एक करोड ४२ लाख ग्यास सिलिन्डर प्रचलनमा छन्। आधा सिलिन्डरको मूल्य एक हजार पाँच रुपैयाँ र पूर्ण सिलिन्डरको मूल्य दुई हजार १० रुपैयाँ कायम रहेको छ ।