सिन्धुली ,०२ बैशाख— जिल्लामा पहिलोपटक व्यावसायिक रूपमा ‘रामपुर हाईब्रिड–१०’ जातको मकैको बिउ उत्पादन सुरु गरिएको छ । मरिण गाउँपालिका–६ भुताहाका किसानहरूले सामूहिक रूपमा थालेको यस प्रयासले स्थानीय कृषिमा नयाँ सम्भावना देखाएको छ । कृषि विकास कार्यालय सिन्धुलीको पहलमा कपिलाकोट साना किसान कृषि सहकारी संस्थामा आबद्ध १६ जना किसानले परीक्षणका रूपमा सुरु गरेको यो कार्यक्रम प्रारम्भिक रूपमा सफल देखिएपछि किसानहरू उत्साहित बनेका छन् ।
यस वर्ष करिब १० बिगाहा क्षेत्रफलमा ‘रामपुर हाईब्रिड–१०’ (वर्णसंकर) जातको बिउ उत्पादन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । उत्पादन भएको बिउको बजार मूल्य उच्च हुने र कम जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने सम्भावनाले किसानहरूलाई यसतर्फ आकर्षित गरेको छ । कार्यक्रममा संलग्न किसान अर्जुनबहादुर गुर्मछान मगरका अनुसार प्राविधिकहरूको निरन्तर मार्गदर्शनका कारण उत्पादन प्रक्रिया सहज भएको छ । “हामी प्राविधिकहरूको सुझावअनुसार काम गरिरहेका छौं, जसले उत्पादनमा सकारात्मक प्रभाव पारेको छ,” उनले बताए ।
उत्पादित बिउको सुनिश्चित बजार व्यवस्थापनका लागि मुक्तिनाथ कृषि कम्पनीसँग सम्झौता भइसकेको छ । सम्झौताअनुसार मकैको घोगासहितको बिउ (तीनदेखि चार दिन सुकाइएको) प्रतिकिलो ११५ रुपैयाँ र छडाएको दाना बिउ प्रतिकिलो १६० रुपैयाँमा खरिद गरिनेछ । यसले किसानलाई उत्पादनपछि बजार खोज्नुपर्ने समस्या कम गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम, रामपुर (चितवन), मरिण गाउँपालिका तथा कृषि विकास कार्यालय सिन्धुलीबीच सहकार्य रहेको छ । कार्यालय प्रमुख अनुप अधिकारीका अनुसार नार्कले भाले तथा पोथी बिउ निःशुल्क उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग पनि प्रदान गरेको छ । “हाम्रो कार्यालयबाट विषादी, रासायनिक मलको सुनिश्चितता तथा थप प्राविधिक सहयोग उपलब्ध गराइएको छ,” उनले बताए। जिल्लाको मरिण गाउँपालिकालाई धान र मकैको बिउ उत्पादन क्षेत्र घोषणा गरी योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
कार्यक्रमको प्रगतिबारे जानकारी लिन राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर, बागमती प्रदेश बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका अधिकारीहरूले स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । सो क्रममा किसानलाई आवश्यक सुझाव तथा प्राविधिक परामर्श प्रदान गरिएको थियो ।
नार्कका प्रमुख तिर्थराज रिजालका अनुसार गत वर्ष हरिहरपुरगढी गाउँपालिकामा गरिएको समान परीक्षण सफल भएपछि त्यसको प्रभावले मरिण गाउँपालिकामा कार्यक्रम विस्तार गरिएको हो। “रामपुर हाईब्रिड–१ देखि १४ सम्मका विभिन्न जात विकास गरिएका छन्, तर ‘रामपुर हाईब्रिड–१०’ अत्यन्त लोकप्रिय र उच्च माग भएको जात हो,” उनले बताए। उनका अनुसार यो जात तीनै सिजनमा खेती गर्न सकिने, तापक्रम सहन सक्ने र मध्यपहाडी क्षेत्रसम्म राम्रो उत्पादन दिने भएकाले यसको सम्भावना उच्च छ ।
बागमती प्रदेश बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख राजन ढकालले प्रारम्भिक परीक्षणको नतिजा उत्साहजनक देखिएको बताए। “प्राविधिक निगरानीमा गुणस्तरीय बिउ उत्पादन भइरहेको छ, जसले किसानलाई आर्थिक लाभ दिनेछ,” उनले भने। उनले स्वदेशमै बिउ उत्पादन हुँदा आयातमा खर्च हुने रकम बचत हुने पक्ष पनि महत्वपूर्ण भएको उल्लेख गरे ।
जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले स्थानीय हावापानी र माटोअनुसार उपयुक्त जात विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै विगतमा देखिएको घोगा लागेर दाना नलाग्ने समस्याबाट सचेत रहन आग्रह गरिन् । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले नयाँ कार्यक्रम भए पनि यसको प्रभाव सकारात्मक देखिएको बताए। “पहिले किसानले बाहिरबाट बिउ ल्याएर रोप्थे, अहिले आफैं उत्पादन गर्न थालेका छन्,” उनले भने। उनले स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता जनाए।
यस पहलले सिन्धुलीमा मकै बिउ उत्पादनको सम्भावनालाई नयाँ दिशा दिएको छ भने किसानको आयस्तर वृद्धि र आत्मनिर्भर कृषि प्रणालीतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।