शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका निर्माण व्यवसायीद्वारा निर्माण ‘आपतकाल’ घोषणा गर्न माग

शनिवार , चैत्र २८, २०८२

सिन्धुली,२९ चैत — निरन्तर बढ्दो इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण देशभरको निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सिन्धुली निर्माण व्यवसायी संघले शनिवार सरकारको ध्यानाकर्षण गराएको छ । संघले जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण डिजेल, पेट्रोल र मट्टितेलजस्ता इन्धनजन्य पदार्थको पटक–पटक भएको अस्वाभाविक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।

संघका अनुसार इन्धन मात्र नभई निर्माण कार्यमा व्यापक रूपमा प्रयोग हुने बिटुमिन, सिमेन्ट, डण्डी लगायतका सामग्रीको मूल्य पनि निरन्तर अप्रत्याशित रूपमा बढिरहेको छ । बजारमा ती सामग्रीको अभाव समेत देखिन थालेपछि निर्माण गतिविधि सञ्चालन गर्न कठिन भएको व्यवसायीहरूको भनाइ छ । संघका अध्यक्ष उद्ववप्रसाद दाहाल द्वारा हस्तारित बिज्ञप्तीमा यससँगै देशका विभिन्न स्थानमा क्रसर उद्योगसँग सम्बन्धित समस्या थपिएपछि निर्माण क्षेत्र झनै प्रभावित बनेको जनाएको छ ।

संघले यसअघि पनि केन्द्रीय महासंघमार्फत नेपाल सरकार र सम्बन्धित निकायहरूसँग समस्या समाधानका लागि पटक–पटक पहल गरिए पनि अहिलेसम्म प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरेको छ । ठेक्का सम्झौताअनुसार मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकांकका आधारमा हुने व्यवस्था भए पनि वास्तविक बजार मूल्यसँग सूचकांक मेल नखाने अवस्थाले व्यवसायीहरू थप मारमा परेको उल्लेख गरिएको छ । बजारमा मूल्य अत्यधिक बढ्दा पनि सूचकाङ्कमा घटेको देखिने प्रवृत्तिले निर्माण उद्योगमा थप असन्तुलन सिर्जना गरेको संघको ठहर छ ।

निर्माण कार्य तीव्र रूपमा सञ्चालन हुने समयमा इन्धन र सामग्रीको अभाव तथा मूल्यवृद्धिले व्यवसायीहरूमा ठूलो आर्थिक भार परेको भन्दै संघले तत्काल ‘निर्माण उद्योग आपतकाल’ घोषणा गर्न माग गरेको छ । साथै वर्तमान कानुनी व्यवस्थाले मूल्य समायोजन गर्न पर्याप्त सुविधा नदिएको भन्दै ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ अविलम्ब जारी गर्न सरकारसँग आग्रह गरिएको छ ।

संघले सबै अवधिका ठेक्कामा मूल्य समायोजनको स्पष्ट व्यवस्था लागू गर्नुपर्नेमा जोड दिँदै साना तथा ठूला सबै निर्माण व्यवसायीहरूको समस्या तत्काल सम्बोधन गर्न अपिल गरेको छ । संघका अध्यक्ष दहालले सरकारको ढिलाइले निर्माण क्षेत्र थप जटिल संकटतर्फ धकेलिन सक्ने चेतावनी दिँदै समयमै ठोस निर्णय लिन आवश्यक रहेको बताए ।

ccc.jpg
undefined

  

प्रतिक्रिया