शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाईमा दुग्धजन्य परिकार तालिम सम्पन्न

बुधवार , चैत्र २५, २०८२

सिन्धुली,२५ चैत — स्थानीय युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले कमलामाई नगरपालिकाले सञ्चालन गरेको दुग्धजन्य परिकार बनाउने पाँचदिने सीप विकास तालिम मंगलबार सम्पन्न भएको छ । उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त तालिमले सहभागीहरूलाई व्यावहारिक ज्ञान र उद्यमशीलताका नयाँ सम्भावनासँग जोडेको छ ।

नगरपालिका–४ मा आयोजित कार्यक्रम वडा अध्यक्ष महेन्द्रप्रसाद ढकालको अध्यक्षतामा तथा नगर उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, सम्बन्धित शाखाका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

तालिममा नगर क्षेत्रका ९ जना युवाले सक्रिय सहभागिता जनाउँदै दुग्धजन्य पदार्थलाई गुणस्तरीय रूपमा उत्पादन गर्ने सीप सिकेका थिए। सहभागीहरूले दही, पनिर, घ्यू, चिजलगायत विभिन्न परिकार बनाउने विधि, सरसफाइका मापदण्ड र बजारमुखी उत्पादनका आधारभूत ज्ञान हासिल गरेका छन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख देवकोटाले सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताइन्। उनले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै दुग्धजन्य उत्पादनलाई व्यवसायिक रूपमा विस्तार गर्न सकिने उल्लेख गर्दै नगरपालिका यसतर्फ प्रतिबद्ध रहेको धारणा राखिन् । “यस्ता तालिमले रोजगारी सिर्जना मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत सुदृढ बनाउने आधार तयार गर्छ,” उनले भनिन् ।

वडा अध्यक्ष ढकालले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे । उनले स्वरोजगारतर्फ अग्रसर भई उत्पादन र आम्दानी वृद्धि गर्न यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गर्दै सिकेको ज्ञानलाई निरन्तर अभ्यासमार्फत विकास गर्न सुझाव दिए ।

नगरपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमलाई प्राथमिकताका साथ निरन्तरता दिने जनाएको छ । स्थानीय युवालाई उद्यमशील बनाउँदै आर्थिक सशक्तीकरणतर्फ अघि बढाउने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमले सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

सीप, स्रोत र सम्भावनाको संयोजनले स्थानीय विकासको नयाँ ढोका खोल्न सक्ने विश्वाससहित सम्पन्न भएको यो तालिमले नगर क्षेत्रमा स्वरोजगारको वातावरण निर्माणमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया