सिन्धुली,२४ चैत – कमलामाई नगरपालिकामा करिब एक अर्ब रुपैयाँ लागतको बहुउद्देश्यीय दुग्ध विकास परियोजना कार्यान्वयन गर्ने सहमति भएको छ । नगरपालिकाका पदाधिकारी तथा द कोरिया रुरल कम्युनिटी कोअपरेशन (केआरसी) का प्रतिनिधिहरूबीच सम्पन्न प्रारम्भिक बैठकले उक्त परियोजना अघि बढाउने निर्णय गरेको हो ।
नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकमा ‘एनह्यान्सिङ डेयरी एनिमल प्रोडक्टिभिटी एण्ड स्ट्रेन्थेनिङ डेयरी भ्यालु चेन इन नेपाल’ शीर्षकको परियोजना अन्तर्गत नगर क्षेत्रमा हाल सञ्चालनमा रहेको मिल्कीवे परियोजनासँग सम्बन्धित पूर्वाधार तथा सशक्तिकरणका कार्यक्रमहरूलाई विस्तार गर्ने सहमति गरिएको छ ।
परियोजनाअन्तर्गत विशेषगरी दुई ठूला आयोजना कार्यान्वयन गरिनेछ । जसमा ‘डेयरी बुटिक’ स्थापना र गाईवस्तुका लागि अत्यावश्यक सुरक्षित घाँस (टिएमआर–टोटल मिक्स्ड रेशन) उत्पादन गर्ने बृहत् उद्योग स्थापना तथा सञ्चालन प्रमुख छन् । यी आयोजनाले स्थानीय किसानको उत्पादन वृद्धि, आम्दानी विस्तार तथा दुग्ध व्यवसायलाई व्यावसायिक बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।
बैठकमा कमलामाई नगरपालिका र दक्षिण कोरियाको सुनचोन नेशनल युनिभर्सिटीबीच द्विपक्षीय सम्बन्ध स्थापना गर्ने विषयमा समेत छलफल भएको थियो । यस सहकार्यबाट नगरभित्रका विद्यार्थीलाई उच्च अध्ययनका लागि उक्त विश्वविद्यालयमा पहुँच विस्तार हुने सम्भावना औंल्याइएको छ ।
नगर प्रमुख पोखरेलले मिल्कीवे परियोजनामार्फत होलस्टेन जातका गाई प्राप्त भएपछि किसानहरूको उत्साह बढेको र दुग्ध उत्पादनमा उल्लेख्य सुधार आएको उल्लेख गरे । उनले किसानको क्षमता अभिवृद्धि, दूध तथा घाँस उद्योग स्थापना र विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा पहुँच दिलाउने लक्ष्यसहित परियोजना प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
केआरसीका प्राध्यापक डाक्टर सियो काङ्सियोकले परियोजनाबाट कमलामाई नगरपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गर्ने दाबी गरे । उनले ‘टर्नकी मोडेल’ अन्तर्गत परियोजनालाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाएपछि नगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिए । यसले स्थानीय कृषि प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।
बैठकमा मन्त्रालयका प्रतिनिधि, हिफर इन्टरनेशनलका प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, नगरपालिकाका कर्मचारी, सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दीपककुमार घिमिरे तथा केआरसीका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो ।