सिन्धुली,२० चैत — ६९ औँ राष्ट्रिय सहकारी दिवस शुक्रबार सिन्धुलीमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । “सहकार्य, समृद्धि र सामाजिक उत्तरदायित्व” को भावनालाई आत्मसात् गर्दै आयोजित कार्यक्रमहरूले सहकारी क्षेत्रको सामाजिक तथा आर्थिक योगदानलाई थप उजागर गरेका छन् ।
सिन्धुलीमा दिवसको सुरुआत बिहानैदेखि सेवा भावनासहित गरिएको थियो । सिन्धुली अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरी सहकारीकर्मीहरूले मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरे । त्यसपछि आयोजित प्रभातफेरीले सहकारीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।
शुक्रवार दिउँसो सम्पन्न मोटिभेसनल कार्यक्रममा सहकारीकर्मीहरूलाई आत्मविकास र नेतृत्व सम्बन्धी ज्ञान प्रदान गरिएको थियो । जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पीकर बीपी रेग्मीले जीवन उपयोगी प्रेरणादायी विषयहरूमा प्रकाश पारे । उनले सहकारीमा आवद्ध व्यक्तिहरूलाई सकारात्मक सोच, अनुशासन र सहकार्यको भावनाले अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा कमलामाई नगरपालिका भूमि व्यवस्था तथा सहकारी शाखा प्रमुख मुकेश तामाङ, नेपाल रेडक्रस सोसाइटीका सभापति अशोक श्रेष्ठ लगायतले सहकारीको भूमिका समाज परिवर्तनमा महत्वपूर्ण रहेको धारणा व्यक्त गरे। उनीहरूले यस्ता कार्यक्रमले सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
दिवसका अवसरमा साँझ दिप प्रज्वलन कार्यक्रम गरी सहकारी आन्दोलनप्रति सम्मान प्रकट गरिएको थियो । यस अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, सरसफाइ, सहकारी नीति संवाद तथा नेतृत्वको वर्तमान भूमिका विषयक छलफलहरू समेत सञ्चालन गरिएको थियो ।
नेपालमा २०१३ साल चैत २० गते चितवनको शारदानगरमा स्थापना भएको पहिलो बखान ऋण सहकारी समितिको स्मरणमा हरेक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने परम्परा रहिआएको छ ।